वैशाख २१, दमक / दमक नगरपालिका वडा नम्बर ७ ले वडावासीको जीवनस्तर उकास्ने उद्देश्यसहित विभिन्न सीपमूलक तालिम सञ्चालन गरेको छ। विशेषगरी विपन्न, गरिब, विद्यार्थी तथा महिलालाई लक्षित गर्दै सिलाइ–कटाइ, कम्प्युटर र ड्राइभिङ तालिम सञ्चालनमा ल्याइएको हो। वडा कार्यालयका अनुसार गत चैत २० गतेदेखि वडा कार्यालयको हलमा ६५ दिने सिलाइ–कटाइ तालिम सञ्चालन भइरहेको छ। वडा सचिव योगेश भट्टराईका अनुसार १ लाख रुपैयाँ बजेटमा सञ्चालन भइरहेको उक्त तालिममा १५ जना सहभागी छन्। प्रशिक्षक कञ्चन अधिकारीले सहभागीहरूलाई भोटे सिलाउने तरिका, सादा कुर्ता–सुरुवाल, पेटिकोट तथा ब्लाउज सिलाउने सीप सिकाइरहेको जानकारी दिनुभयो।
त्यसैगरी, वडा नम्बर ७ कै आयोजनामा वैशाख ७ गतेदेखि ९० दिने कम्प्युटर अपरेटर तालिम सुरु गरिएको वडा सदस्य अतित वान्तवा राईले जानकारी दिनुभयो। तालिममा नेपाली तथा अंग्रेजी टाइपिङ, माइक्रोसफ्ट अफिस, ग्राफिक डिजाइन, फोटोशप लगायतका विषय समेटिएका छन्। उक्त तालिममा २५ जना युवा विद्यार्थी सहभागी रहेका छन् भने तालिमको सहजीकरण नोबेल कम्प्युटर एण्ड बरिष्टा ट्रेनिङ सेन्टर दमकले गरिरहेको छ।
यस्तै, वडा कार्यालयकै पहलमा ड्राइभिङ तालिम पनि सञ्चालन भइरहेको छ। वडा सचिव भट्टराईका अनुसार ५० प्रतिशत लागत सहभागीसँग र ५० प्रतिशत वडा कार्यालयको लगानीमा एक महिने तालिम सञ्चालन गरिएको हो। वैशाख ९ गतेदेखि सुरु भएको उक्त तालिममा २० जना सहभागी छन्। तालिमको सहजीकरण दमक ड्राइभिङ सेन्टरले गरिरहेको जनाइएको छ। वडाले सञ्चालन गरेका यस्ता सीपमूलक तालिमहरूले स्थानीय बासिन्दालाई आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


