असाेज १, कन्काई, झापा – डिपिएल कन्काई र डिपिएल कन्काई टिन्सको संयुक्त आयोजनामा आज साँझ कन्काई नगरपालिकास्थित झापा रोडमा दीप प्रज्वलन तथा शोकसभा सम्पन्न गरिएको छ।
कार्यक्रममा डिपिएल कन्काई र कन्काई टिन्सका पदाधिकारी, सदस्य तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले मौन धारण गर्दै आन्दोलनमा प्राण गुमाउने आत्माहरूको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए।
डिपिएल नेपालका उपाध्यक्ष कमल गैरेले देशभरका विभिन्न डिपिएल शाखाहरूमा दिवंगत आत्माहरूको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम गरिएको जानकारी दिनुभयो।
त्यसैगरी, डिपिएल कन्काईका अध्यक्ष जेनिस चम्लागाईले शहीद परिवारलाई धैर्य धारण गर्न शक्तिको कामना गर्दै उक्त आन्दोलनले देशमा परिवर्तनको आशा पलाएको बताउनुभयो।
कार्यक्रमले लोकतान्त्रिक मूल्य–मान्यता र न्यायका लागि भएको बलिदानलाई सदैव सम्झिरहनु पर्ने सन्देश दिएको आयोजकहरूले जनाएका छन्।