दमक, १ कार्तिक — तिहार नजिकिँदै गर्दा दमक नगरपालिकाभित्र फेरि पनि प्रतिबन्धित प्लास्टिकका फूलहरू बजारभरि देखिन थालेका छन्।
फूलको पर्व तिहार सुरु भएसँगै दमकका मुख्य चोक, गल्ली र ठेलाहरूमा छ्याप्छ्याप्ती रूपमा प्लास्टिकका माला र फूलहरू बिक्री भइरहेको देखिन्छ। सरकारले देशभर प्लास्टिकका फुलगुच्छा उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाएको भए पनि स्थानीय बजारमा त्यसको खुलेआम उल्लंघन भइरहेको छ।
प्लास्टिकजन्य वस्तुले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भन्दै सरकारले तथा स्थानीय तहहरूले बारम्बार सचेतना र प्रतिबन्धको नीति लागू गरे पनि दमक नगरपालिकाले अनुगमनमा खास ध्यान नदिएको देखिन्छ।
स्थानीय फुल व्यवसायीहरूले भने सस्तो र टिकाउ भएकै कारण बजारमा प्लास्टिकका फूलको माग बढेको बताएका छन्। तर यसले प्राकृतिक फूलहरूको व्यवसाय ओझेलमा पर्दै गएको छ।
तिहार र छठ जस्ता चाडपर्वमा प्लास्टिकजन्य फूल र माला बिक्री गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने सरकारी चेतावनी जारी भए पनि बजारमा यसको कार्यान्वयन नदेखिँदा सरोकारवाला निकायप्रति प्रश्न उठ्न थालेको छ।
यस विषयमा स्थानीय प्रशासन र दमक नगरपालिकाले तत्काल प्रभावकारी अनुगमन र नियन्त्रण गर्नुपर्ने देखिन्छ।






