दमक, ३ कार्तिक — आज नेपालभर कुकुर तिहार मनाइँदैछ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि नेपाली घर–आँगनदेखि सडकका कुकुरसम्मलाई टीका, माला लगाइ मीठा खानेकुरा खान दिई पूजा गर्ने परम्परा देखिएको छ । हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजका दूत र भगवान भैरवको वाहनका रूपमा वर्णन गरिएको छ । त्यसैले पनि प्रत्येक वर्षको कृष्ण चतुर्दशीका दिन कुकुरको विशेष रूपमा पूजा गरिन्छ ।
यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । जनविश्वासअनुसार यस दिन “नर्के नुहाउने” चलनले सबै पाप नाश हुन्छ भन्ने मान्यता रहिआएको छ । साथै, मासको पातको साग खाने चलन पनि रहँदै आएको छ ।
तर पछिल्ला वर्षहरूमा कुकुर तिहार देखावटी रूपमा सीमित बन्दै गएको देखिन्छ । सडकका कुकुरहरूलाई एक दिन विशेष खाना खुवाइए पनि तिहार सकिएलगत्तै त्यही कुकुरप्रति समाजको दृष्टिकोण फेरिने गरेको छ । धेरैजसो मानिसले वर्षका बाँकी दिनमा सडकका कुकुरलाई लखेट्ने, डुङ्गा हान्ने, कुटपिट गर्ने जस्ता व्यवहार गर्ने गरेको पाइन्छ ।
धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मी र मोक्षद्वारका पहरेदारका रूपमा उल्लेख गरिएको छ । तर व्यवहारमा भने त्यो सम्मान केवल एक दिनमै सीमित देखिन्छ ।
विशेषज्ञहरूका अनुसार, “कुकुर तिहारको वास्तविक सार कुकुरप्रतिको माया, करुणा र सहअस्तित्व हो । त्यसैले यो भावना वर्षभर कायम राख्न सके मात्र यो पर्वको सार्थकता रहन्छ ।”
यस वर्ष पनि धेरै स्थानमा सडकका कुकुरलाई खोजी–खोजी माला र टीका लगाइ खानेकुरा खुवाउने दृश्य देखिए । यद्यपि, कुकुर तिहारको भावना केवल एक दिनमा सीमित नराखी वर्षभरै कुकुरप्रति दयालु व्यवहार गर्ने चेतना समाजमा फैलाउन आवश्यक देखिन्छ ।






