कार्तिक ११, दमक / छठ पर्वको अवसरमा पहिलो पाइला नेपाल दमक शाखाले भक्तजनहरूलाई निःशुल्क चिया वितरण गरेको छ । दमक नगरपालिका–७ रतुवा नदी किनारमा आयोजित कार्यक्रममा दर्शनार्थी तथा व्रतालुहरूलाई निःशुल्क रूपमा चिया वितरण गरिएको हो ।
पारस्परिक एकता, सद्भाव र भाइचाराको भावना मजबुत बनाउनका लागि संस्थाले यस्तो कार्यक्रम आयोजना गरेको बताइएको छ।
कार्यक्रममा दमक शाखा अध्यक्ष राजु निरौला, सल्लाहकार राजु खड्का, कार्यक्रम संयोजक देबु गर्तौला, उपाध्यक्ष लवराज खड्का, केन्द्रीय सदस्य मेघनाथ फुयल र सुरेश बरालसहित संस्थाका अन्य सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
सो कार्यक्रममा सामाजिक, राजनीतिक क्षेत्रका व्यक्तित्वहरू, सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूको समेत उपस्थिति रहेको थियो। उपस्थित महानुभावहरूले संस्थाद्वारा गरिएको चिया वितरण कार्यक्रमको प्रशंसा गरेका थिए।
संस्थाका सदस्य सन्जु शिवाकोटीका अनुसार उक्त कार्यक्रममा करिब ७०० कप चिया भक्तजनहरूलाई निःशुल्क रूपमा वितरण गरिएको थियो।
पहिलो पाइला नेपाल दमक शाखा विगतदेखि नै सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रहँदै आएको छ।





