कमल, मंसिर ९ / झापाको कमल गाउँपालिका–६ खयरबारीमा आज एक औपचारिक समारोहका बीच चौतारो निर्माणको शिलान्यास सम्पन्न गरिएको छ। खयरबारी युवा क्लबको आयोजनामा रतुवा नदीको पूर्वी किनारास्थित निर्माणाधीन मुक्तिघाट परिसरभित्र मलामी विश्राम कक्षसहितको दुईतले चौतारो निर्माण कार्य शुभारम्भ गरिएको हो।
“खयरबारी युवा क्लबको पहिचान—मुक्तिघाट बनाउने हाम्रो अभियान” भन्ने नाराका साथ सक्रिय युवा टोलीले विवाह पञ्चमीको विशेष अवसर पारेर भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरेको हो।
शिलान्यास क्लबका अध्यक्ष राम शाही ठकुरी, कमल–६ का वडाध्यक्ष नरेन्द्र भट्टराई, वडा सदस्य ओम पराजुली तथा जग्गादाता रत्नकुमारी खनालले संयुक्त रुपमा गर्नुभएको थियो। क्लबका अनुसार निर्माणाधीन चौतारो दुईतले हुनेछ, जसमा मलामी विश्राम कक्ष र आवश्यक सामग्री भण्डारणका लागि स्टोर कक्ष पनि रहनेछ।
चौतारो निर्माणका लागि दशैंमा आयोजित चिठ्ठा कार्यक्रम, तिहारमा खेलिएको देउसी–भैलो तथा स्थानीयवासी, शुभचिन्तक र सहयोगी संस्थाबाट संकलित रकम प्रयोग गरिने क्लबले जनाएको छ। करिब १७ लाख रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको क्लब अध्यक्ष ठकुरीले जानकारी दिनुभयो।
शिलान्यास कार्यक्रममा टोल विकास संस्था, स्थानीय संघ–संस्था, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






