मङ्सिर १०, कमल / कमल गाउँपालिकाले विद्यार्थी स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको विद्यालय स्वास्थ्य जाँच कार्यक्रमअन्तर्गत आज मङ्सिर १० गतेदेखि आँखा परीक्षण तथा भिजन स्क्रिनिङ क्याम्प औपचारिक रूपमा सुरु गरिएको छ। कार्यक्रम मेची आँखा अस्पताल, सैनिक मोड झापाको प्राविधिक सहयोगमा श्री महेन्द्र रत्न माध्यमिक विद्यालय, कमल–२, समयगढबाट सुरु गरिएको हो।
क्याम्पको शुभारम्भ कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गर्नुभयो। उहाँले बालबालिकाको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै आँखा समस्या समयमै पहिचान र उपचार गर्न यस्तो अभियान महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले भनिन्, “कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने हाम्रो लक्ष्यअन्तर्गत बालबालिकाको आँखा स्वास्थ्य अत्यन्त महत्वपूर्ण पक्ष हो। विद्यालयमै स्वास्थ्य सेवा पु¥याएर विद्यार्थीको समस्या समयमै पहिचान गर्नु नै यो अभियानको उद्देश्य हो।” उपाध्यक्ष तिवारीले मेची आँखा अस्पतालको प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै स्वास्थ्य सेवाका यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
उद्घाटन कार्यक्रममा कमल–२ वडा सदस्य भिमसिंह कार्कि, महेन्द्र रत्न मा.वि.का प्रधानाध्यापक बालकृष्ण सङ्रौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनकुमार चाम्लिङ्ग, कमल नगर अस्पतालका प्रमुख दीपक दाहाल, मेची आँखा अस्पतालका कार्यक्रम फोकल पर्सन युवराज बोहोरा सहित शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो।
बुधबार सम्पन्न क्याम्पमा ३६४ विद्यार्थीको आँखा परीक्षण गरिएको विद्यालयले जनाएको छ। परीक्षणमा ६ जनामा चस्मा आवश्यक पर्ने समस्या पहिचान गरिएको छ भने ९ जनालाई थप परीक्षण तथा उपचारका लागि मेची आँखा अस्पतालमा रिफर गरिएको छ।
विद्यालय व्यवस्थापनका अनुसार धमिलो देखिने, आँखाबाट पानी आउने, दृष्टि कमजोर हुने जस्ता लक्षण भएका विद्यार्थीको समस्या प्राथमिक चरणमै पहिचान हुनु अभियानको मुख्य उपलब्धि हो।
कार्यक्रम सफल बनाउन मेची आँखा अस्पतालको विशेषज्ञ टोली, कमल नगर अस्पताल, स्थानीय समुदाय तथा अभिभावकहरूले दिएको साथप्रति विद्यालय व्यवस्थापन समितिले आभार व्यक्त गरेको छ।
वडा सदस्य भिमसिंह कार्किले भने,“आजको क्याम्पले विद्यार्थीको आँखासम्बन्धी स्वास्थ्यबारे महत्वपूर्ण तथ्य उजागर गरेको छ।आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्तो अभियान निरन्तर सञ्चालन हुनेछ।” विद्यालय स्वास्थ्य अभियानलाई निरन्तरता दिँदै आगामी मङ्सिर १२ गते श्री कमला–मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा अर्को स्वास्थ्य शिविर सञ्चालन हुने जनाइएको छ।






