पुष २७, कमल / लायन्स क्लब अफ कमलले हिजो कमल गाउँपालिका वडा नम्बर २ स्थित समयगढ बजारमा बृहत दन्त तथा आँखा शिविर सम्पन्न गरेको छ। बिर्ताज्योति आँखा अस्पताल र आमा डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा आँखासम्बन्धी समस्या भएका ३५० जना बिरामीले परीक्षण गराएका थिए भने १५० जना दाँतसम्बन्धी समस्या भएका सेवाग्राहीले उपचार सेवा लिएका थिए। आँखातर्फ ५० जनाको आँखाको स्क्रिनिङसमेत गरिएको थियो। दन्त सेवातर्फ आवश्यक परेका व्यक्तिहरूको दाँत खोल्ने कार्यसमेत शिविर स्थलमै गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ कमलका अध्यक्ष दीपक खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सिका डिस्ट्रिक्ट सेक्रेटरी लायन्स नेत्र चम्लागाईं एमजेएफ रहनुभएको थियो।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सि अन्तर्गत एरिया–१ का एरिया कोअर्डिनेटर लायन्स आर.सी. मिश्र एमजेएफ, समयगढ बजार व्यवस्थापन समितिका सचिव दिवस खड्का, नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डम्बर श्रेष्ठलगायत विभिन्न संघसंस्था प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ कमलका सचिव दिवस खतिवडाले गर्नुभएको थियो। आयोजकले यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






