दमक – झापाको दमक नगरपालिका–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ। दमक नगरपालिका वडा नं. ७ र बाल्यकालका साथी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले वडा नं. ७ ले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले वडा नं. ७ मा रहेको एकमात्र सरकारी विद्यालय पृथ्वी माध्यमिक विद्यालयमा कक्षा ८ सम्म पूर्ण निःशुल्क शिक्षा प्रदान गरिएको र कक्षा ९ तथा १० का विपन्न विद्यार्थीलाई समेत आवश्यक सहयोग गर्दै आएको जानकारी दिनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राईका अनुसार कार्यक्रममा करिब १ सय २ जना विपन्न विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो। उहाँले विद्यालयमा प्रत्येक वर्ष विपन्न विद्यार्थीलाई पोशाक वितरण गर्दै आएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक विष्णु राईका अनुसार वि.सं. २०१२ सालमा स्थापना भएको यस विद्यालयमा हाल करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। विपन्न विद्यार्थीको शिक्षामा वडा नं. ७ ले निरन्तर सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रममा वडा सदस्य मानबहादुर खवास, इन्दु पौडेल, तारा रण पहेली लगायतको उपस्थिति थियो। बाल्यकालका साथी संस्थाका अध्यक्ष चन्दन महतो पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन कमल तामाङले गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
























