दमक । दमक–५ मा अवस्थित सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलले मध्य भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरेको छ।
विद्यालय परिवारको तर्फबाट रु. १ लाख १ हजार १ सय ४५ राहत रकम जम्मा गर्ने निर्णय गरिएको हो। विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ।
विद्यालयमा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो। प्राकृतिक विपद्का कारण मध्य भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय परिवारको तर्फबाट राहत रकम उपलब्ध गराउने निर्णय गरिएको हो।
विद्यालयका प्रधानाध्यापक नवीन योगीले विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको बताए। विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको उनको भनाइ थियो।
उनले विद्यार्थीहरूमा सहयोग, सहकार्य र मानवीय सेवाको भावना विकास गर्न पनि यस्ता कार्यले महत्वपूर्ण भूमिका खेल्ने बताए।
सर्वोदयले शिक्षा प्रदान गर्ने आफ्नो जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै विपद्का समयमा आवश्यक सहयोग र सहकार्य गर्दै आएको जनाएको छ।

























