दमक । दमक २ र ३ मा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समितिको नवनिर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष चद्रप्रसाद गुरागाईको अध्यक्षतामा आयोजित सो कार्यक्रममा दमक नगरपालिका नगरउपप्रमुख रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
वन डिभिजन कार्यलयका प्रमुख नथुनी गोहिवार यादवको विशिष्ठ आतिथ्यता रहेको सो कार्यक्रममा वडाअध्यक्ष हरि न्यौपाने, प्रजापति सापकोटा, नविन बरालको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दमक नपा उपप्रमुख रेगिना भट्टराई प्रसाईले बृक्षा रोपण र संरक्षणलाई प्राथमिकतामा राख्न आग्रह गरेकी थिईन । उनले अक्सिजन बढी भन्दा बढी प्राप्त हुने प्रकृतिका बोटविरुवा लगाएर दमक नगरलाई नै हरित नगरीमा रुपान्तरण गरिनुपर्नेमा जोड दिईन ।
यसैगरी वन डिभिजन कार्यालयका प्रमुख यादवले पुरानो समितिले लामो समयसम्म यथास्थितिमा रहेको कारणले यसको निर्वाचन छिटो भन्दा छिटो गराउनुपर्नेमा बाध्यता देखेर पहल गरिएको र सोही अनुसार सबैको ध्यानाकर्षण भएपछि निर्वाचन सम्भव भएको बताए ।
उनले नयाँ कार्यसमितिले शपथ नलिई वा पदभार ग्रहण नै नगरी अत्यन्तै फलदायी काम गरिसकेको भन्दै उनले केही समय अगाडि उक्त सामुदायिक वनका पदाधिकारीले चोरी तस्करीको गाडी समाएको सम्झाएका थिए ।
सामुदायिक वन उपभोक्ता समितिका पूर्व अध्यक्षहरु पुण्य ढुंगाना, महेन्द्रसिंह निरौलासहित उपभोक्ता समितिका सदस्य तथा स्थानीयबासीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरणसहित शपथग्रहण गराइएको थियो ।

























