विराटनगर । विराटनगर जेसीजको आयोजनामा ‘जेसीज सप्ताह २०२६’ आज (कात्तिक १०) देखि सुरु हुँदैछ। अक्टोबर २७ देखि नोभेम्बर १ सम्म सञ्चालन हुने सप्ताहअन्तर्गत युवा नेतृत्व विकास, सामाजिक सेवा, स्वास्थ्य सचेतना तथा व्यक्तित्व विकाससँग सम्बन्धित विविध कार्यक्रम आयोजना गरिने भएको छ।
सप्ताहको पहिलो दिन मंगलबार विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा नेपाल पत्रकार महासंघ मोरङसँग मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ। बुधबार (कात्तिक ११) जेसीआई विराटनगरको सचिवालयमा ‘राजेन्द्रबहादुर श्रेष्ठ स्मृति वक्तृत्वकला प्रतियोगिता’ सञ्चालन हुनेछ।
त्यसैगरी, बिहीबार (कात्तिक १२) ओली एन्ड एसोसिएट्समा ‘मास्टर द माइक’ शीर्षकमा उद्घोषण तालिम आयोजना गरिनेछ। शुक्रबार (कात्तिक १३) विराटनगरको रानीस्थित हाटखोलामा ‘जीवन सञ्जीवनी’ स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
शनिबार (कात्तिक १४) स्टेशनरी तथा खेलकुद सामग्री वितरण कार्यक्रमसँगै कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा आधारभूत जीवनरक्षा तालिम आयोजना गरिने आयोजकले जनाएको छ।
सप्ताहको समापन नोभेम्बर १ अर्थात् कात्तिक १६ गते आइतबार विराटनगरस्थित होटल स्वागतममा समापन समारोह तथा ‘जेसीज सम्मान’ कार्यक्रम आयोजना गरी गरिनेछ।
विराटनगर जेसीजका वरिष्ठ कार्यकारी उपाध्यक्ष जेसी रञ्जनकुमार शाही सप्ताहका प्रमुख कार्यक्रम संयोजक रहेका छन्। संस्थाका महासचिव जेसी श्रीजना थापा र अध्यक्ष जेसी कबी राज दाहालले सप्ताहलाई सफल बनाउन आवश्यक तयारी पूरा गरिएको जनाएका छन्।
सप्ताहअन्तर्गतका विभिन्न कार्यक्रमको संयोजन जेसी पंकज मेहता, जेसी पवन काफ्ले, जेसी करुणा धमला, जेसी हेमन्त रजक, जेसी सबिन अधिकारी, जेसी रोशनी प्रधान र जेसी मनोज तिवारीले गर्नेछन्।
युवाको नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्वको भावना विकास तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले आयोजना हुन लागेको जेसीज सप्ताहले युवालाई सामाजिक गतिविधिमा सक्रिय बनाउनुका साथै नेतृत्व, व्यक्तित्व विकास र सेवामूलक कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







- Multi Media





























