कनकाई । पि.ई.एफ. हाई स्कुलको आयोजनामा वार्षिक खेलकुद महोत्सव सुरु भएको छ। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सर्वाङ्गीण विकाससँगै खेल प्रतिभाको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेङमाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कनकाई नगरपालिकाका शिक्षा शाखा प्रमुख राजकुमार ओडारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको औचित्यमाथि विद्यालयका प्रिन्सिपल ओमविक्रम नेङमाङले प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सृजना लिम्बुले गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप संयोजक एलिना थापाले महोत्सवको संयोजन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओडारीले खेलकुदले विद्यार्थीहरूको क्षमता विकास, अनुशासन, नेतृत्व क्षमता तथा स्वस्थ जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। साथै, आगामी राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन तथा उत्कृष्ट प्रदर्शन गर्न यस महोत्सवले विद्यार्थीहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
महोत्सवअन्तर्गत क्रिकेट, भलिबल, फुटबल, दौडलगायत विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिने विद्यालयले जनाएको छ। प्रतियोगिताको अन्तिम दिन विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी महोत्सवको समापन गरिने आयोजकले जानकारी दिएको छ।
विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीमा लुकेर रहेका प्रतिभा उजागर गर्दै खेलकुदप्रतिको रुचि, प्रतिस्पर्धात्मक भावना र सामूहिकताको विकास गर्ने अपेक्षा गरेको छ।



























