दमक – झापाको दमक नगरपालिका–६ स्थित ग्लोबल एजुकेसन एकेडेमीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सञ्चालन गरिएको थियो। नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यार्थीहरूलाई सांस्कृतिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
देउसी–भैलो प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई एक समूह र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई अर्को समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। देउसी–भैलो प्रतियोगितामा कक्षा १ का विद्यार्थी प्रथम भएको थियो। त्यस्तै, रङ्गोली प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थीबीच प्रतिस्पर्धा भएकोमा कक्षा १० प्रथम भएको थियो।
प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई विद्यालयले पुरस्कारसमेत वितरण गरेको थियो। कार्यक्रमका सम्बन्धमा विद्यालयकी कमला पौडेलले जानकारी दिनुभएको थियो। कार्यक्रम सञ्चालन नरेश पोखरेलले गर्नुभएको थियो भने अध्यक्षता विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको थियो।



























