२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

हल्दिबारीमा युवाहरूको अनुकरणीय पहल : सडक सुरक्षा, सचेतना र चोक सौन्दर्यकरणका कार्य सम्पन्न

हल्दिबारी, झापा । स्थानीय आवश्यकता पहिचान गर्दै सार्वजनिक हितका काममा युवाहरूको सक्रिय सहभागिता र सामूहिक पहलकदमीको उदाहरण प्रस्तुत गर्दै हल्दिबारीमा सडक सुरक्षा तथा सचेतनामूलक अभियान सम्पन्न भएको छ।

सडक दुर्घटना न्यूनीकरण, पैदलयात्रीको सुरक्षित आवागमन, ट्राफिक अनुशासनको प्रवर्द्धन तथा सार्वजनिक स्थलको सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले हल्दिबारीका युवाहरूको अगुवाइमा हल्दिबारी गाउँपालिका–२ स्थित भजन चोकमा उक्त अभियान सञ्चालन गरिएको हो। अभियानअन्तर्गत जेब्रा क्रस निर्माण, सडक सुरक्षा सचेतना, ट्राफिक कोन व्यवस्थापन तथा चोक सौन्दर्यकरणका कार्य सम्पन्न गरिएका छन्।

कार्यक्रमको उद्घाटन कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन समारोहमा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देन, वडा नं. २ का वडाध्यक्ष शुकलाल राजवंशी, वडा नं. ४ का वडाध्यक्ष सन्तु थापा मगर, गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र), जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राई, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका अध्यक्ष कर्णखर प्रसाईं, उद्योग वाणिज्य संघ हल्दिबारीका महासचिव कृष्ण प्रसाईं, एकता बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारी, हल्दिबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्राखरिनलगायत जनप्रतिनिधि, सामाजिक अभियन्ता, स्थानीय युवा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले सडक सुरक्षाका मापदण्ड, ट्राफिक नियमको पालना, सवारीसाधन सञ्चालनसम्बन्धी कानुनी व्यवस्था तथा सडक दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी गराउनुभएको थियो। उहाँले सडक सुरक्षालाई व्यक्तिगत सावधानीमा मात्र सीमित नराखी सामूहिक जिम्मेवारीका रूपमा आत्मसात् गर्नुपर्ने बताउँदै स्थानीय सरकार, सुरक्षा निकाय र नागरिकको सहकार्यमा सञ्चालन हुने यस्ता अभियानले दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राख्नुभयो। युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता प्रशंसनीय रहेको उहाँको भनाइ थियो।

त्यसैगरी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले सुरक्षित सडक र व्यवस्थित आवागमन विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। उहाँले ट्राफिक नियमको पालना, सडक अनुशासन र दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकारसँगै प्रत्येक नागरिक जिम्मेवार बन्नुपर्ने बताउँदै यस्ता अभियानमा सामुदायिक सहभागिता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रमुख अतिथि चुडालले युवाहरूको अगुवाइमा स्थानीय स्तरमा भइरहेका सकारात्मक, सिर्जनात्मक तथा समाजोपयोगी कार्यको प्रशंसा गर्नुभयो। उहाँले समाज रूपान्तरणका लागि युवाहरूको ऊर्जा, सोच र सिर्जनशीलतालाई रचनात्मक कार्यमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै भजन चोकमा गरिएको यस प्रयासले सुरक्षित आवागमन र जिम्मेवार नागरिक व्यवहारको विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्ता अभियानलाई हल्दिबारीका अन्य बजार तथा चोकहरूमा समेत विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो।

अभियानअन्तर्गत भजन चोकको स्तम्भमा नेपालको राष्ट्रिय झण्डा स्थापना, पैदलयात्रीका लागि जेब्रा क्रस निर्माण तथा सवारीसाधनको आवागमन व्यवस्थित गर्न ट्राफिक कोन राखिएको छ। यी कार्यले चोकको स्वरूपलाई थप व्यवस्थित र आकर्षक बनाउनुका साथै पैदलयात्री तथा सवारी चालकलाई सडक सुरक्षाप्रति सचेत गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अभियानका संयोजक असीम मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण सामाजिक अभियन्ता अभिषेक खतिवडाले गर्नुभएको थियो।

कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै संयोजक मैनालीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर युवाहरूको सामूहिक प्रयास, सकारात्मक सोच र सहयोगबाट अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताउनुभयो। उहाँले अभियानलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने जनप्रतिनिधि, सरकारी निकाय, संघसंस्था, सुरक्षाकर्मी, स्थानीयवासी तथा सम्पूर्ण सहयोगी महानुभावहरूप्रति आयोजकका तर्फबाट धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

सडक सुरक्षा केवल ट्राफिक नियमको पालना मात्र नभई नागरिकको जीवन रक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य समाज निर्माणसँग जोडिएको विषय हो। यही जिम्मेवारीबोधलाई व्यवहारमा उतार्दै युवाहरूले अघि सारेको यस अभियानले स्थानीय विकासमा नागरिक सहभागिता र सामूहिक पहलकदमीको महत्त्वलाई थप उजागर गरेको छ।

समस्या पहिचान गर्ने चेतना, समाधानका लागि अघि बढ्ने साहस र परिवर्तनका लागि एकजुट हुने सामूहिक भावना नै समाज विकासको वास्तविक आधार हो भन्ने सन्देश भजन चोकमा सम्पन्न यस अभियानले दिएको छ।

+ posts

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।