Author: Multi Media

  • ताप्लेजुङमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु अर्का एकजना घाइते

    ताप्लेजुङमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु अर्का एकजना घाइते

    दमक / ताप्लेजुङको फावा खोलामा आइतबार भएको सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अर्को १ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    फुङलिङ नगरपालिका– ११ स्थित फावा खोलामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्को १ जना घाइते भएको प्रहरीले जनाएको छ ।सिरिजङ्गा गाउँपालिका –३ सिकैचास्थित सरस्वती माविकी शिक्षिका भावना बिक सवारी दुर्घटनामा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
    आइतबार बिहान फुङलिङबाट सिकैचातर्फ जाँदै गरेको गाडी फावा खोलाको बनपाला भन्ने स्थानमा दुर्घटनामा भएको हो ।

    दुर्घटनामा परी सवारी चालक फावा खोलाका सविन विष्ट घाइते भएका छन् ।सवारी सडकबाट करिब १ सय मिटर तल झरेको थियो । गाडी सवार अन्य मानिसहरू यस अघि नै विभिन्न स्थान झरेको र अन्तिममा बिक र चालक मात्रै रहेका थिए ।घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

  • दमकमा जङ्गली हात्तीको आक्रमण दिदीबहिनी गम्भीर घाइते

    दमकमा जङ्गली हात्तीको आक्रमण दिदीबहिनी गम्भीर घाइते

    दमक / झापाको दमकमा आइतबार बिहान मर्निङ वाकका क्रममा दुई दिदीबहिनी जङ्गली हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका छन्।
    दमक नगरपालिका–१ बरगाछी नजिक बिहान करिब ४ बजे स्थानीय सुनिता राई र कविता राई हात्तीको आक्रमणमा परेका हुन्।

    मर्निङ वाक गरिरहेका बेला हम्सेदुम्से सामुदायिक वन क्षेत्रबाट निस्किएको जङ्गली हात्तीले दुबैलाई आक्रमण गरी फ्याँकेको थियो।घटनापछि स्थानीयले तत्कालै उद्धार गरी दमक अस्पताल पुर्‍याए पनि अवस्था गम्भीर भएकाले दुवै जनालाई थप उपचारका लागि बिराटनगर रिफर गरिएको दमक नगरपालिका वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिए।

  • झापामा राष्ट्रिय फोटो पत्रकार समूहको जिल्ला शाखा गठन

    झापामा राष्ट्रिय फोटो पत्रकार समूहको जिल्ला शाखा गठन

    झापा — नेपाल पत्रकार महासंघ झापा जिल्ला पूर्व सभापति मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यमा राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा गठन गरिएको छ।

    नवगठित कार्यसमितिको अध्यक्षमा नेत्र विक्रम बिमली चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई र कोषाध्यक्षमा कवि गुरागाई चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन्।

    समितिलाई सशक्त बनाउँदै सुझाव तथा मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिको संयोजकमा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति मोहन काजी न्यौपाने रहेका छन् भने सदस्यहरूमा पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहेका छन्।

    नवगठित समितिले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रीय समितिसँग समन्वय गर्दै तालिम तथा फोटो पत्रकारिता सम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

  • दमकमा रोटरी क्लबद्वारा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, २ सय ४० बिरुवा रोपण

    दमकमा रोटरी क्लबद्वारा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, २ सय ४० बिरुवा रोपण

    दमक / रोटरी क्लब अफ दमकको आयोजनामा शनिबार दमकमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। रोटरी डिष्टृक्ट ३२९२ नेपाल–भुटानको स्वच्छ वातावरण अभियानअन्तर्गत ५० हजार बिरुवा रोप्ने लक्ष्य अनुरूप दमक क्षेत्रमा २४० बिरुवा रोपिएको क्लबका पूर्व अध्यक्ष सन्दिप चापागाईंले जानकारी दिनुभयो।

    वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा टेवा पु-याउने उद्देश्यले सम्पन्न उक्त वृक्षारोपण कार्यक्रममा दमक नगरपालिका, वडा नम्बर ७ कार्यालय, पहिलो पाइला नेपाल, जीवन चक्र समाज, डिभिजन वन कार्यालय (भिलझिले नर्सरी) लगायतका संस्थाहरूको सहकार्य रहेको थियो।

    कार्यक्रममा रोटरी क्लब अफ दमकका अध्यक्ष केशवकुमार अग्रवालले वृक्षारोपणले स्थानीय वातावरण संरक्षणसँगै क्षेत्रको सौन्दर्य अभिवृद्धिमा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    जीवनचक्र समाजका संस्थापक अध्यक्ष गणेश गौतमका अनुसार सामुदायिक सहकार्यमा सम्पन्न कार्यक्रमबाट पर्यावरणीय चेतना अभिवृद्धि भएको छ।

    कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल, रोटरी तथा रोट्रयाक क्लबका पदाधिकारी, पूर्व अध्यक्षहरू, समाजसेवी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रम सञ्चालन रोटरी क्लबकी सचिव अम्बिका न्यौपानेले गर्नुभएको थियो। रोटरी क्लब स्थापना भएको १२० औं वर्ष पुगेको अवसरमा गरिएको यो कार्यक्रम सामाजिक उत्तरदायित्वप्रति क्लबको प्रतिबद्धता झल्काउने आयोजनाका रूपमा हेरिएको छ।

    Oplus_0

  • दमकमा  सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

    दमकमा सवारी दुर्घटनामा साइकल यात्रीको मृत्यु

    दमक / झापाको दमक नगरपालिका–४ मा शनिबार भएको सवारी दुर्घटनामा एक साइकल यात्रीको ज्यान गएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमक–४ चियाबगान नजिकै बिहान करिब ६:४५ बजे उर्लाबारीतर्फबाट दमक आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट ताराबारी जाँदै गरेका साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका साइकल यात्री दमक–४ घरघरेका ६० वर्षीय सोमबहादुर विकलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा बिहान साढे सात बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

    प्रहरीका अनुसार मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न बस र बस चालक मकवानपुर हेटौडा–७ का ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनालाई सम्मानपूर्वक विदाई

    ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनालाई सम्मानपूर्वक विदाई

    दमक — स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमक-झापाले नेपाल प्रहरीको ट्राफिक विभागबाट सेवानिवृत्त हुनुभएका दमक ट्राफिक प्रहरी प्रमुख जनक तिम्सिनालाई एक विशेष कार्यक्रमका बीच विदाई गरेको छ।

    दशकौं लामो सेवा अवधि पूरा गरी ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान पुर्‍याउनुभएका तिम्सिनालाई सम्मानपूर्वक विदाई गर्न आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष गौरी बराल, समाजवादी ट्रेड युनियनका अध्यक्ष मिलन योगी, नेपाल यातायात मजदुर संघ कोशी प्रदेश उपाध्यक्ष गान्धी भण्डारी, र हलुका सवारी चालक इकाई समितिका सह-सचिव हरि दहालले तिम्सिनाको दमक क्षेत्रको ट्राफिक व्यवस्थापनमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे।

    कार्यक्रममा बोल्दै जनक तिम्सिनाले आफ्नो सेवा अनुभवलाई अब समाजमा रचनात्मक र सकारात्मक ढंगले प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “जीवनचक्र समाजबाट मैले गाली नगरी दृढतापूर्वक काम गर्ने संस्कार सिकेको छु, र यसलाई जीवनमा व्यवहारमा उतार्नेछु,” उहाँले भावुक हुँदै बताउनुभयो।

    विदाई कार्यक्रमको सहजीकरण स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका सचिवले गर्नुभएको थियो। कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूले तिम्सिनाको भावी जीवन सफल र सक्रिय होस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

  • मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा दिब्यदृष्टि पुजा सामाग्रि उत्पादनस्थलको निरिक्षण

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्धारा दिब्यदृष्टि पुजा सामाग्रि उत्पादनस्थलको निरिक्षण

    दमक / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा, कमल–६ मा अवस्थित दिब्यदृष्टि भेनेरेशन एण्ड एग्रो कन्सर्न प्रा.लि. अन्तर्गत सञ्चालित दिब्यदृष्टि पुजा सामग्री उद्योगको निरीक्षण गरेका छन् ।

    उद्योग भ्रमणका क्रममा मुख्यमन्त्री कार्कीले स्वदेशी कच्चा पदार्थमा आधारित धार्मिक उत्पादनमूलक उद्योगले स्थानीय रोजगार, संस्कृति संरक्षण र आयात प्रतिस्थापनमा उल्लेखनीय योगदान दिन सक्ने धारणा व्यक्त गरेकाछन् ।

    मुख्यमन्त्री कार्कीले यस्तो उद्योग प्रदेशको आत्मनिर्भरता र उद्यमशीलताका दृष्टिकोणबाट उदाहरणीय हुने भन्दै संघीय तथा प्रदेश सरकारको तर्फबाट आवश्यक नीति तथा सहकार्यमा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    उद्योगका अध्यक्ष विष्णुप्रसाद पोखरेल र कार्यकारी प्रमुख तथा सञ्चालक बबिता तिम्सिनाले उपस्थित टोलीलाई उद्योगको स्थापना, उत्पादन प्रक्रिया र व्यवसायिक विस्तारबारे जानकारी गराएका थिए ।

    उद्योगका अध्यक्ष पोखरेलले भने, “दिब्यदृष्टि ब्रान्ड अन्तर्गत हामीले शुद्ध, शास्त्रसम्मत र घरेलु स्रोतमा आधारित पुजा सामग्री उत्पादन गर्दै आएका छौ । धार्मिक आस्थाका सामग्रीमा गुणस्तर कायम राख्दै स्वदेशी उत्पादनको प्रवद्र्धन हाम्रो उद्देश्य हो ।”

    अग्र्यानिक बाटेको मच्छडधुप र पुजाका लागि बाटेको धुप उत्पादन गर्दै ६० भन्दा बढि महिलाहरुलाई अर्ध रोजगार र १५ जनालाई पूर्ण रोजगार दिएको पोखरेलले सो अवसरमा जानकार िदिएका थिए ।

    कार्यकारी प्रमुख तिम्सिनाले थप जानकारी दिँदै भनिन्, “हाल उद्योगबाट नवग्रह समिधा, हवन सामग्री, दिब्य समिधा, परिमल, बाटेको धुप, सप्तधान्य, गंगाजल, गौ अर्क, पञ्चरत्न, सर्वोषधि, सप्तमृतिका, तिल, जौ लगायत दुई दर्जनभन्दा बढी पुजा सामग्री उत्पादन भई कोशी प्रदेशकाल सबै जिल्ला सहित काठमाडौं, चितवन, बुटवल, नेपालगञ्ज बकदाङलगायत देशभर वितरण भइरहेको छ ।”

    उद्योगले उत्पादनमा स्थानीय कच्चा पदार्थको उपयोग, महिला उद्यमशक्तिको प्रोत्साहन, र जैविक उत्पादनको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आएको छ । निकट भविष्यमा प्याकेजिङ सुधार, बजार विस्तार र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य रहेको तिम्सिनाले जानकारी दिइन् ।

    शुक्रबार भएको निरीक्षण भ्रमणमा मुख्यमन्त्रीसँगै प्रदेशसभा सदस्य, होमबहादुर थापा लगायत प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।