Category: घटना

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

    सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

    माघ ११ ,सङ्खुवासभा / सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप नुनढाकी नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो। दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान हालसम्म खुल्न सकेको छैन।

    दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नं. ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो।

    दुर्घटनामा घाइते भएका तीनै जनाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

  • दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

    दमकमा बर्जर पेन्ट्सको ‘लुट धन्दा’ पर्दाफास गुणस्तरहीन रंग र घुसको अफर सम्मको आरोप

    सुजन गाैतम / पुष २९, दमक /नेपालकै नम्बर–१ ब्रान्ड भनेर प्रचार गरिँदै आएको बर्जर पेन्ट्स दमकमा गम्भीर विवादमा फसेको छ। उपभोक्तालाई ठग्ने, गल्ती लुकाउन लाखौँ रुपैयाँको अफर गर्ने र सत्य बाहिर ल्याउन खोज्दा कुटपिटसम्म गर्ने आरोपसहित बर्जर पेन्ट्सको कथित ‘लुट धन्दा’ सार्वजनिक भएको हो।

    दमक नगरपालिका–४ का अनूप कटुवालले आफ्नो घरमा १० वर्ष टिक्ने वारेन्टीसहित लगाइएको भनिएको बर्जर पेन्ट्स मात्र २० दिनमै खुुइलिन थालेपछि कम्पनीको वास्तविकता उजागर भएको बताए। घरको बाहिरी तथा भित्री भागको रंग बिग्रिएर सम्पूर्ण घर नै कुरुप बने अवस्थ भएको अनुप कटुवालको भनाइ छ। कटुवालका अनुसार उजुरी गरेपछि समस्या समाधान गर्नुको सट्टा कम्पनी पक्षले “मिडियामा नलैजानू” भन्दै करिब २० लाख रुपैयाँ दिने प्रस्ताव गर्‍यो। उनले रंगको गुणस्तर खराब भएको विषय सार्वजनिक गर्ने अडान लिएपछि भने कम्पनीबाट आएका करिब ७ जना व्यक्तिहरु दादागिरी शैलीमा घर वरिपरि आएर गएका पनि थिए।

    आफ्नो गल्ती लुकाउन बर्जर पेन्ट्सका कथित ‘सलाहकार’ भन्दै ९८५१०९८०९२ नम्बरबाट पटक–पटक फोन गरी लाखौँ रुपैयाँ दिन्छौँ, चुप लाग भन्ने दबाब दिइएको कटुवालले खुलासा गरेका छन्। तर पैसा लिएर भाग्नुको सट्टा सत्य बाहिर ल्याउनु नै उचित ठानेको उनले बताए। घटना दमक–५ बेलडाँगी रोडमा रहेको बर्जर पेन्ट्सको एक डिलरबाट खरिद गरिएको पेन्ट प्रयोग गरेपछि भएको पीडितको दाबी छ। तर आश्चर्यजनक रूपमा कम्पनीले आफ्नो आधिकारिक पत्रमार्फत “उक्त घरमा बर्जर पेन्ट्स प्रयोग नै भएको छैन” भन्ने दाबी गर्दै उल्टै उपभोक्तामाथि नै दोष थोपरेको छ।

    यसै विषयमा दमक–५ बेलडाँगी रोडमै रहेको विशपति सिरेमिक एन्ड कलर हाउसका सञ्चालक बिलास बरालले आफ्नो पसलमार्फत बिक्री हुने पेन्ट कम्पनीबाटै आउने र कम्पनीकै निर्देशनअनुसार ग्राहकलाई उपलब्ध गराइने स्पष्ट पारेका छन्। यसले बर्जर पेन्ट्सको आधिकारिक दाबीमाथि गम्भीर प्रश्न खडा गरेको छ। मंगलबार दमकमा आयोजित पत्रकार सम्मेलनमा पीडित अनूप कटुवालले बर्जर पेन्ट्सको ठगी, दबाब, धम्की र हिंसाको श्रृंखला सार्वजनिक गर्दै उपभोक्तामाथि कम्पनीले निषेधाज्ञा जस्तै मुद्दा हालेर आतंक मच्चाएको सम्म बताउनुभयो ।नेपालभर गुणस्तरको नाममा बजार कब्जा गर्दै आएको बर्जर पेन्ट्सको यो प्रकरणले साधारण उपभोक्ताको सुरक्षा कति कमजोर छ? भन्ने गम्भीर प्रश्न उठाएको छ।

  • इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

    इन्डियन आइडल विजेता गायक–अभिनेता प्रशान्त तामाङको ४३ वर्षमा हृदयघातबाट निधन

    पुष २७ , दमक / ‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ। भारतको दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज (आइतबार) बिहान हृदयघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। सन् २००७ मा इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङले नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा ठूलो योगदान दिएका छन्।

    गायक तथा अभिनेता तामाङले ‘गोर्खा पल्टन २’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए भने ‘परदेशी’, ‘निशानी’, र ‘अँगालो मायाको’ जस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अभिनय गरेको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ प्रदर्शनको तयारीमा थियो।

    वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता लोकप्रिय गीतका गायक प्रशान्त कुनै समय कोलकाता प्रहरीमा समेत कार्यरत थिए। उनका श्रीमती र एक छोरी छन्।उनको असामयिक निधनले कला र संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

  • दमक–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी, करिब १ करोड ३० लाखको क्षति

    दमक–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी, करिब १ करोड ३० लाखको क्षति

    पुस २५, दमक / झापाको दमक नगरपालिका–९ मा करेन्ट सर्टका कारण भीषण आगलागी भएको छ। दमक–९ निवासी पदम भण्डारीले सञ्चालन गर्दै आएको टिनको छानो र पक्की वालयुक्त स्वस्तिक थुप्पा फ्याक्ट्रीमा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा फ्याक्ट्री पूर्ण रूपमा जलेर नष्ट भएको हो।
    आगलागीले फ्याक्ट्रीसँगै जोडिएको भण्डारीकै तीनतले पक्की घरमा समेत आगो सल्किँदा घरभित्र रहेका सम्पूर्ण सरसामान जलेर नष्ट भएका छन्। घटनापछि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, शिवसताक्षी नगरपालिका तथा कमल गाउँपालिकाबाट आएको दमकल, स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीको संयुक्त प्रयासमा आगो निभाउने कार्य गरिएको थियो।
    प्रहरीका अनुसार बिहान करिब ११:२५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियोे । आगलागीबाट कुनै पनि मानवीय वा चौपाया क्षति नभएको जनाइएको छ।आगलागीका कारण फ्याक्ट्रीका सम्पूर्ण उपकरण तथा कच्चा पदार्थ र घरभित्रका सबै सरसामान जलेर नष्ट हुँदा अन्दाजी १ करोड ३० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    बारम्बार बमको त्रास फैलाउने खगेन्द्र खरेल झापाबाट पक्राउ

    पुस २५, झापा / झापामा ‘प्रेसर कुकर बम’ राखिएको भन्दै त्रास फैलाउने घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बम राखेर आतंक मच्चाएको आरोपमा सञ्जय भन्ने खगेन्द्र खरेललाई प्रहरीले पक्राउ गरेको हो।

    कनकाई नगरपालिका–४ स्थित कनकाई पुल नजिक विस्फोटक पदार्थ राखी सर्वसाधारणमा आतंक फैलाएको आरोपमा ५५ वर्षीय खरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनी कनकाई नगरपालिका–८ का स्थायी बासिन्दा हुन्।

    झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार खरेल यसअघि पनि पटक–पटक यस्तै प्रकृतिका घटनामा संलग्न भई पक्राउ परेका र सजाय भोगिसकेका व्यक्ति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।प्रहरीले यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कडा कारबाही गरिने चेतावनी दिँदै सर्वसाधारणलाई शंकास्पद गतिविधि देखिएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

  • सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

     

    शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

     

    सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।

    शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

  • सरोज शर्माको शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

    सरोज शर्माको शव बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला

    झापा / आफ्नो सवारीसहित बेपत्ता भएका झापा शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका ३२ वर्षीय सरोज शर्माको शव झापाको झापा गाउँपालिका–५ स्थित हुलाकी राजमार्ग नजिक बिरिङ पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।

     

    वडा नम्बर १० का सदस्य दीपक पोखरेलका अनुसार शनिबार बिहान घटनास्थलमा दुर्गन्ध फैलिन थालेपछि स्थानीयको सूचना आधारमा खाल्टो खनेर हेर्दा शव फेला परेको हो। उनले भने, -‘शव सड्न थालेको अवस्थामा भेटिएको छ, साथमा रहेको नागरिकताका कारण परिवारले सनाखत गर्न सकेका छन्।’

    परिवारका सदस्यहरू घटनास्थलमा पुगेका थिए। प्रारम्भिक अनुमान अनुसार सरोजको हत्या गरी घटना लुकाउनका लागि शव पुलमुनि गाडिएको हुनसक्ने बताइएको छ। वडा सदस्य पोखरेलले दोषीको शीघ्र पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

    यसअघि सरोजले प्रयोग गर्दै आएकाे बा १३ च ३८६४ नम्बरको कार झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिक हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो। आगलागीपछि कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको थियो।

    स्थानीयले जंगलभित्र कारमा आगो बलिरहेको देखेपछि प्रहरी र दमकललाई खबर गरेका थिए। आगो निभाएपछि प्रहरी टोलीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

    शिवसताक्षीका सरोज शर्मा गत आइतबारदेखि सवारीसहित बेपत्ता भएका थिए। उनका बुबा सकलदेव शर्माका अनुसार छोरा र गाडी दुबै सम्पर्कविहीन भएपछि परिवारले खोजी कार्य अघि बढाएको थियो। पाँच दिनपछि कार आगजनी अवस्थामा भेटियो भने आठ दिनपछि शव पुलमुनि गाडिएको अवस्थामा फेला पर्‍यो।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीका एक अधिकारीले भने,-‘आगजनी गरिएको गाडी र फेला परेको शवबीचको सम्बन्ध स्पष्ट भइसकेको छ। प्रारम्भिक रूपमा यो हत्या गरी सब गाडिएको जस्तो देखिन्छ, तर घटनाको कारण र दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको छ।’

    यस घटनाले शिवसताक्षी र आसपासका क्षेत्रमा त्रास फैलिएको छ। स्थानीयवासीले घटनाको छिटो र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।