Category: घटना

  • दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

    दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

    दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिब 12 बजे बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।

     

    इलाका प्रहरी कार्यालय दमकका अनुसार दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना यात्रु सवार थिए।

     

    घाइतेमध्ये २१ जनाको उपचार आम्दा अस्पताल खरखरेमा भइरहेको छ। उपचारको क्रममा मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरलाई चिकित्सकले राति १२ः२८ बजे मृत घोषणा गरेका थीए ।

     

    अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूमा सिता मगर, योगेश मगर, विपिन श्रेष्ठ, सपना श्रेष्ठ, नन्दमाया मगर, आशिन लिम्बु, रामकुमारी मगर, रोनिशा दर्जी, टंकबहादुर गुरुङ, साजन श्रेष्ठ, बिष्णु कुमारी लिम्बु, निकेश भुजेल, शिसिर राई, प्रेम र रुपा रसाइली, सन्दीप रसाइली, राजन श्रेष्ठ, एन्जिला जोगी, पुनम मगर र अनुसा मगर रहेका छन्।

     

    प्रहरीका अनुसार दुर्घटनापछि बस चालक ३९ वर्षीय भक्तबहादुर दर्जी लाई नियन्त्रणमा लिइएको छ। बस भने घटनास्थलमै रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ।

     

    अस्पतालका अनुसार २१ जना घाइतेमध्ये २० जनालाई आज बिहान डिस्चार्ज गरिएको छ भने पेटमा चोट लागेकी १७ वर्षीया सपना श्रेष्ठको उपचार अझै जारी छ।

  • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते 

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    कार्तिक ११, झापा / मिति २०८२ साल कार्तिक ११ गते (मंगलबार) बिहान करिब ४:०० बजे झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक पूर्व–पश्चिम राजमार्गमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ।

    रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा बसमा सवार २५ मध्ये १९ जना यात्रु घाइते भएका छन्।

    घाइतेहरुको उद्धार गरी बिर्तामोडस्थित बिर्तासिट अस्पताल पठाइएको प्रहरीले जनाएको छ। बाँकी ६ जना यात्रु भने सामान्य अवस्थामा आफ्ना गन्तव्यतर्फ गइसकेका छन्। सडक अवरुद्ध नभएको र बस हाल पनि घटनास्थलमै रहेको प्रहरीको भनाइ छ।

    दुर्घटनास्थलमा माईधार प्रहरी चौकीबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान भइरहेको छ।

    घाइतेहरुको विवरण यसप्रकार छः १. राजु भुजेल, ३९ वर्ष, मेचिनगर–६, बस चालक — टाउकोमा चोट, अवस्था मध्यम। २. अम्बर बहादुर बुढाथोकी, ६५ वर्ष, मन्थली–१० — घाँटी र ढाडमा चोट, अवस्था मध्यम। ३. इक्षा लिम्बु, १७ वर्ष, झापा–३ — निधार, हात र खुट्टामा चोट, अवस्था मध्यम। ४. भिमप्रसाद पुरी, ३५ वर्ष, मन्थली–९ — बायाँ करङमा चोट, अवस्था मध्यम। ५. रबिलाल गनेस, २० वर्ष, कचनकवल–४ — टाउकोमा चोट, अवस्था मध्यम। ६. मिटु खत्री, ६५ वर्ष, ठाडादेवी–३ — ढाडमा चोट, अवस्था मध्यम। ७. परिना गनेस, २१ वर्ष, कचनकवल–४ — टाउको र ढाडमा चोट, अवस्था मध्यम। ८. सिमित्रा खड्का कार्की, ३६ वर्ष, बिर्तामोड–१० — हात र खुट्टामा चोट, अवस्था सामान्य। ९. एलोन कार्की, ९ वर्ष — टाउको र छातिमा चोट, अवस्था मध्यम। १०. प्रदीप बहादुर बस्नेत, ३० वर्ष, बैनेश्वर–३, दोलखा — टाउकोमा चोट, अवस्था मध्यम। ११. अनु श्रेष्ठ, ८ वर्ष, देउराली, रामेछाप — टाउकोमा चोट, अवस्था सामान्य। १२. कुमार बस्याल, २८ वर्ष, तामाकोशी–३, दोलखा — छातिमा चोट, अवस्था सामान्य। १३. भेमा राजबंसी, २७ वर्ष, कचनकवल–६ — छाती र कुममा चोट, अवस्था मध्यम। १४. रामकुमार श्रेष्ठ, ३५ वर्ष, बिर्तामोड–५ — छाती र तिघ्रामा चोट, अवस्था सामान्य। १५. रिदम श्रेष्ठ, ९ वर्ष — हात र खुट्टामा चोट, अवस्था सामान्य। १६. पुर्ण बहादुर नेपाली, २३ वर्ष, बिर्तामोड–५ — टाउको र कुममा चोट, अवस्था सामान्य। १७. सितल नेपाली, १८ वर्ष — बायाँ आँखाको डिलमा चोट, अवस्था सामान्य। १८. अबिषेक राजबंसी, २१ वर्ष, बाह्रदशी–५ — नाकमा चोट, अवस्था सामान्य। १९. श्यामलाल किस्कु, १८ वर्ष, झापा–२ — टाउकोमा चोट, अवस्था सामान्य।

    प्रारम्भिक अनुमानअनुसार बस अनियन्त्रित भएर पल्टिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    कार्तिक ९ , दमक / झापाको दमक नगरपालिका–८ सरस्वती टोलमा आइतबार आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। अर्गानिक कृषि भवन नजिक बसोबास गर्दै आएका रविन खडकाको टिनको छानो र खाँबाको संरचनामा बनेको दुई तले घरमा बिद्युत् सर्ट भएर आगलागी भएको हो।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार घरको पछाडिको कोठाबाट आगो सल्किएर केहीबेरमै नियन्त्रणबाहिर गएको थियो। आगलागीका कारण घरभित्र रहेका लत्ताकपडा, भाँडाकुडा, अन्नपात, काठपात, फर्निचर, गरगहना लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

    मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीको भनाइ छ।आगलागीबाट करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

    दमक नगरपालिकाको दमकल भाद्र २४ गतेको जेन जि आन्दोलनका क्रममा क्षतिग्रस्त भई मर्मत कार्य सम्पन्न नभएकाले तत्काल आगो नियन्त्रणमा कठिनाइ भएको थियो। पछि गौरादह नगरपालिका, कमल गाउँपालिका र उर्लाबारी नगरपालिकाबाट आएका दमकल टोली तथा स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो।

  • गौरादहमा माछा मार्ने क्रममा डुबेर दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु

    गौरादहमा माछा मार्ने क्रममा डुबेर दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु

    गौरादह, ३० असोज–माछा मार्ने क्रममा डुबेर आज दिउँसो झापाको गौरादह–९ बैगुनधुरामा दुई दिदीवहिनीसहित तीन बालिकाको मृत्यु भएको छ ।

    बैगुनधुरास्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुवेर स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो ।

    उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

  • शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    शिवसताक्षी धरमपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई जना गम्भीर घाइते

    असाेज २४, शिबसताक्षी / झापाको शिबसताक्षी–१ धरमपुरमा स्कुटर र मोटरसाइकल एकापसमा ठोकिएर एक जनाको मृत्यू भएको छ । सोही दुर्घटनामा परेर दुईजना गंभीर घाइते भएका छन् ।

    दुर्घटनामा गंभीर घाईते तीनै जनालाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारत पठाइएको थियो । उपचारको क्रममा बिर्तामोड–५ की निरुता भट्टराईको मृत्यु भएको छ । मृतक भट्टराई स्कुटी चालक हुन् ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी– १ धरमपुरस्थित भित्री पक्की सडकखण्डमा शुक्रवार दिउँसो १।३० वजे दई सवारीसाधन एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।

    दक्षिणी क्षेत्र पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नं को स्कुटर र बिपरित दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा जुधेको हो ।

    दुर्घटनामा स्कुटर चालक भट्टराई, सोही स्कुटी पछाडी सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ बस्ने बर्ष–३४ का सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ बस्ने अन्दाजी बर्ष–३१ का सुरज कार्की पनि गंभीर घाइते भएका थिए ।

    घाइते दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको र दुवै सवारी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    दमक पशुहाटको नालीभित्र अज्ञात पुरुषको शव फेला

    झापा, असोज २४। झापाको दमक–७ स्थित पशुहाट परिसरभित्र एक अज्ञात पुरुषको शव फेला परेको छ। शुक्रबार बिहान स्थानीय बासिन्दाले टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    इलाका प्रहरी कार्यालय दमकका अनुसार मृतक करिब ५० देखि ५५ वर्ष उमेर समूहका पुरुष हुन्, तर हालसम्म उनको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियार प्रहार गरिएको जस्तो देखिएको छ।

    घटनाको प्रकृति र कारणबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ। शव परीक्षणका लागि दमक अस्पताल ल्याइएको छ भने घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

  • झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गर्ने युवक पक्राउ

    झापा, असोज २४ — झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह नगरपालिका–५, कटकपुर निवासी १८ वर्षीय राघव धमला रहेका छन्।

    प्रहरीका अनुसार उनले गत चैत २५ गते आफ्नै घर नजिकको बाँसघारीमा १३ वर्षीया बालिकालाई डर र त्रास देखाई जबरजस्ती करणी गरेका थिए। पीडित बालिका गर्भवती भएपछि घटना सार्वजनिक भएको बताइएको छ।

    पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलमा उजुरी दिएपछि प्रहरी टोलीले धमलालाई नियन्त्रणमा लिएको हो। हाल उनलाई इलाका प्रहरी कार्यालय झिलझिलमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाबारे थप विवरण संकलन गर्दै आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ।