Category: घटना

  • दमकमा नगर प्रहरीको गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

    दमकमा नगर प्रहरीको गाडी दुर्घटना, मानवीय क्षति नभएको पुष्टि

    भदौ ९, दमक / दमक नगरपालिका–७ स्थित पुरानो सब्जी बजारमा आइतबार राति नगर प्रहरीको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा सडक किनारामा पार्किङ गरिएका मोटरसाइकल, स्कुटर र सिटी सफारीलाई ठक्कर दिँदै गाडीले सडक छेउको रेलिङ समेत भत्काएको छ।

    सौभाग्यवश, घटनामा मानवीय क्षति भएको छैन। दमक नगरपालिकाका नगर प्रहरी प्रमुख रुद्रजंग कार्कीका अनुसार सो गाडी बेवारिसे मानिस उद्धारका लागि जाँदै गर्दा दुर्घटना भएको हो।

    दुर्घटनापछि गाडीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको जनाएको छ।

  • दमकमा कुकुर आतङ्क : स्थानीय त्रसित

    दमकमा कुकुर आतङ्क : स्थानीय त्रसित

    भदौ ९, दमक / दमक क्षेत्रमा पछिल्लो समय कुकुर आतङ्क बढ्दै गएको स्थानीयले गुनासो गरेका छन्। अनियन्त्रित रूपमा वढिरहेका कुकुरहरूले गाउँबस्तीमा आतंक सिर्जना गरेका हुन्।

    स्थानीयवासीका अनुसार कुकुरहरूले तरकारी बारी नष्ट गर्ने, बाख्रा तथा कुखुरा खाने, बाटो हिँड्ने मान्छेलाई समेत आक्रमण गर्ने गरेको छ। यसैगरी सवारी साधनलाई समेत लखेट्ने घटनाले दैनिकयातायातमा समेत समस्या सिर्जना भएको छ।

    दमकका विभिन्न टोलमा कुकुरको आतंकका कारण बस्तीका बासिन्दा त्रसित भएका छन्। समस्या समाधानका लागि सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग स्थानीयले गरेका छन्।

  • गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    गौरिगञ्जमा ब्राउन सुगरसहित एक युवक पक्राउ

    भदौ,दमक ६ । झापाको गौरिगञ्जमा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कमल गाउँपालिका–५ निवासी ३१ वर्षीय धनेस सहनी रहेका छन्।

    गौरिगञ्ज गाउँपालिका–१ स्थित नेपाल–भारत सीमामा बिहिवार साँझ अन्दाजी ५ः२५ बजे खटिएका सुरक्षाकर्मीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ८००३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागुऔषध बरामद गरेको हो।प्रहरीले उनको हेल्मेट भित्र प्लास्टिकको पोकामा लुकाएर ल्याउँदै गरेको ६ ग्राम १६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

    मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • मेची राजमार्गमा ईभी दुर्घटना, ९ जना घाइते

    मेची राजमार्गमा ईभी दुर्घटना, ९ जना घाइते

    भदौ,दमक ६ । ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको इभी भ्यान दुर्घटना हुँदा भ्यानमा सवार ९ जना घाइते भएका छन् । गएराति बुद्धशान्ति–३ धर्मकाटास्थित मेची राजमार्ग खण्डमा प्र.१–०१–००१ ज.४०८८ नम्बरको भ्यान अनियन्त्रित भई दुर्घटना भएको झापा प्रहरीले जनाएको छ ।

    दुर्घटनामा भ्यान चालक ताप्लेजुङ फुङलिङ गाउँपालिका–२ का लाक्पा थेपेन शेर्पासहित ९ यात्रु घाइते भएका थिए । घाइते हुनेहरूमा भक्तपुर चाँगुनारायणका सेसेहाङ सुवा, प्रेम यौङहाङ, टिका लिम्बु, सुवमा लिम्बु, झापा अर्जुनधाराका विजय लिम्बु, मनकुमारी लिम्बु र दमकका मनिता धिमाल र रिता धिमाल रहेका छन् ।

    चालक शेर्पालाई इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा राखिएको र अन्य घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

  • झापाको बिर्तामोडमा पार्किङ गरिएको ट्रकमा आगलागी, पाँच लाख बराबरको क्षति

    झापाको बिर्तामोडमा पार्किङ गरिएको ट्रकमा आगलागी, पाँच लाख बराबरको क्षति

    भदौ ४, बिर्तामोड / झापा जिल्ला बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिक पार्किङ गरी राखिएको ना ४ ख ४१८१ नम्बरको ट्रकमा अचानक तार सर्ट भएर आगलागी भएको छ।

    इलाका प्रहरी कार्यालय अनारमनीमा प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी तथा स्थानीयवासीहरूको सहयोगमा मटरको पानी प्रयोग गरी आगो अन्दाजी १७:०० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको हो।

    उक्त आगलागीबाट ट्रकको कागजपत्रसहित अगाडिको क्याबिन (चालक र सहचालक बस्ने भाग) र इन्जिनसमेत आंशिक रुपमा जलेको प्रहरीले जनाएको छ। यस घटनाबाट करिब रु. ५,००,००० (पाँच लाख) बराबरको क्षति भएको अनुमान गरिएको छ।

  • दमकमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    दमकमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

    भदौ ३, दमक / मंगलबार दमकमा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।दमकको पशुहाट डाँडामा बन्दाकोपि बोकेको मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका–५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    उहाँ आफ्नै श्रीमान् सुकदेव गौतमले चलाएको मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो। दुर्घटनामा मोटरसाइकल चालक सुकदेव घाइते भई उपचारका लागि दमक अस्पताल पठाइएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न ट्रकका चालक तेह्रथुमका २५ वर्षीय आङदावा शेर्पा सहित ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु

    झापामा करेन्ट लागेर १३ महिनामा २० जनाको मृत्यु

    भदौ ३, दमक / झापा जिल्लामा साउनको १ महिनामा मात्रै करेन्ट लागेर ५ जनाको मृत्यु भयो । यसरी मृत्यु हुनेहरु ग्रामीण क्षेत्रका किसानहरु छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार पछिल्लो चार महिनामा मात्रै झापामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ ।करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए ।

    उनका अनुसार अधिकांश मानिसमा विद्युतीय मोटर कसरी चलाउने भन्ने राम्रो ज्ञान छैन । जसले गर्दा करेन्ट लागेर मृत्यु हुने घटना बढ्दो छ।प्रहरीका अनुसार आर्थिक वर्ष २०८१–८२ मा झापामा करेन्ट लागेर १५ जनाको ज्यान गएको छ ।भदौ २ गते पनि मेचीनगर नगरपालिका–५ का २२ वर्षीय सन्दीप राजवंशीको घरमै करेन्ट लागेर मृत्यु भएको थियो ।

    बिग्रिएको टेबल पङ्खा मर्मत गर्ने क्रममा सोमबार साँझ अचानक करेन्ट लागेर अचेत भएका राजवंशीलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारीमा पुर्याइएको थियो । उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।