Blog

  • गौरादह नगर उप–प्रमुखलाई सामाजिक सञ्जालले भ्रामक समाचारबाट कोरिया–डेन्मार्क घुमाइदियो !

    गौरादह नगर उप–प्रमुखलाई सामाजिक सञ्जालले भ्रामक समाचारबाट कोरिया–डेन्मार्क घुमाइदियो !

    शीतल अधिकारी – साउन २७ / गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवंशी चौधरीले नेपाल स्काउटमार्फत दक्षिण कोरिया भ्रमण गरी नेपाल स्काउटको रकम नतिरेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।तर हाम्रो तथ्य जाँचमा उक्त दाबी पूर्णतः भ्रामक रहेको पाइएको छ । उपमेयर राजवंशीले कोरिया भ्रमण गरेको कुनै प्रमाण छैन, तर फरक सन्दर्भमा साइप्रस भ्रमण गरेको भने पुष्टि हुन्छ ।

    के हो दावी ?
    राष्ट्रिय समाचार एजेन्सी न्युज २४ का पत्रकार राजिब खत्रीले २०८२ श्रावण २६ गते बेलुका ४:३१ मा पोष्ट सार्वजनिक गर्दै एमाले नेता महेश बस्नेतले राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालको सुमेरू टुर एण्ड ट्राभल मार्फत नेपाल स्काउटबाट भिजिट भिषामा कोरिया र डेनमार्क पुगेका केहि व्यक्ती उतै लुकेको र सोहि कार्यक्रममा कोरिया पुगेको तर नेपाल स्काउटको रकम तिर्न बाँकी रहेको भनी उपप्रमुख राजवंशी सहित अन्य ३ जना जनप्रतिनिधिको नाम सार्वजनिक गरी पैसा नतिरेको दाबी गरिएको छ । यो दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ, जसमा उनको नाम कोरिया र डेनमार्क प्रकरणसँग जोडिएको छ ।

    उदाहरणका लागि, फेसबुकमा केही पोस्टहरूमा उनलाई ‘स्काउटको कोरिया कार्यक्रममा गएर पैसा नतिरेको’ भन्दै सूची सार्वजनिक गरिएको छ ।
    हेर्नुस् स्क्रिनसट –

    यो तथ्य जाँच तयार पार्दा सम्म यस पोस्टमा ८७०० हजार रियाक्ट र ११०० सेयरहरू देखिएका छन् । यसैगरी, अन्य सामाजिक सञ्जालमा पनि सोही दाबीसहित पोस्टहरू भेटिन्छन् ।
    भाइरल विषय भएकोले हामीले यसको तथ्य जाँच गरेका छौँ । के हो तथ्य ?

    हामी यस विषयमा उपमेयर जलवर्षा राजवंशीलाई प्रश्न गर्दा यो आरोपलाई पूर्णतः खण्डन गर्दै स्पष्ट पारेकी छन्, उनको अनुसार हाल सम्म उनी दक्षिण कोरिया कहिल्यै नगएको उनको दावी छ । उनको भनाइअनुसार, निर्वाचित भएपछि उनी नेपाल स्काउटको कार्यक्रममा सहभागी हुन साइप्रस गएकी थिइन्, जुन २०२३ मा भएको ३८औँ WAGGGS विश्व सम्मेलन थियो । यो सम्मेलन युरोपियन युनिभर्सिटी साइप्रसमा आयोजित भएको थियो ।

    हामीले यो दावीलाई पुष्टि गर्न 38th WAGGGS विश्व सम्मेलनको विवरणहरु खोज्दै जाँदा नेपाल स्काउटको आधिकारिक इन्स्टाग्राम आईडीबाट २०८० साउन १२, शुक्रवार पोष्ट गरिएको यी तस्बिरहरूमा देब्रे पट्टीको तेस्रो तस्बिरमा गौरादह नगरपालिका उप-प्रमुख जलबर्षा राजवंशी चौधरीलाई देख्न सकिन्छ l उक्त तस्बिरहरूमा सम्मेलनको बोर्डमा ‘38th WAGGGS World Conference CYPRUS 2023’ स्पष्ट देखिन्छ, जसमा स्काउट लोगो र नेपाली प्रतिनिधिहरू सहभागी छन् । तस्बिरहरूमा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी, माननीय सांसद सुनीता बराललाई समेत देख्न सकिन्छ l

    यस विषयमा गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले पनि प्रतिक्रिया दिँदै भनेका छन्, “उपमेयर कोरिया वा डेनमार्क गएको मलाई थाहा छैन, किनकि स्थानीय तहका पदाधिकारीहरूको विदेश भ्रमणका लागि नेपाल सरकारको मनोनयनपछि कार्यपालिकाको स्वीकृति अनिवार्य हुन्छ । यस्तो कुनै प्रस्ताव कार्यपालिकामा आएको नै छैन ।”

    तथ्यः भ्रामक सूचना । दक्षिण कोरिया भ्रमण गरेको दाबी गर्दै फैलाइएको सूचना भ्रामक हो । उपमेयर राजवंशीले दक्षिण कोरिया भ्रमण गरेको छैनन् । उनी २०२३ मा साइप्रसमा भएको WAGGGS विश्व सम्मेलनमा सहभागी भएकी थिइन्, जसमा आर्थिक दायित्व पूरा भएको उनको दावी छ ।

  • दमक उद्योग वाणिज्य संघको स्थापना दिवसमा अन्तर–वस्तुगत फुट्सल प्रतियोगिता

    दमक उद्योग वाणिज्य संघको स्थापना दिवसमा अन्तर–वस्तुगत फुट्सल प्रतियोगिता

    साउन २७ दमक / दमक उद्योग वाणिज्य संघको स्थापना दिवसको अवसरमा ‘अन्तर–वस्तुगत फुट्सल प्रतियोगिता २०८२’ आयोजना हुने भएको छ। प्रतियोगिता भदौ ५ र ६ गते दमकको बिस्ट फुट्सलमा सञ्चालन हुनेछ।

    संघमा आवद्ध १४ वटा वस्तुगत संघमध्ये १० वटा संघले यस प्रतियोगितामा सहभागिता जनाउनेछन्। आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य सदस्य संघहरूबीच भाइचाराको भावना, मित्रता र एकताको सन्देश फैलाउनु हो।

    प्रतियोगितामा रेडिमेड कपडा व्यवसायी संघ, जुत्ता–चप्पल व्यवसायी संघ, किराना तथा खाद्यान्न व्यवसायी, सुन–चाँदी व्यवसायी संघ, अटोमोबाइल व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, स्वास्थ्य व्यवसायी संघ, दमक मोबाइल व्यवसायी संघ र फर्निचर व्यवसायी संघका टिमले प्रतिस्पर्धा गर्नेछन्।

    आयोजकले यस प्रतियोगितालाई खेलकुदमार्फत व्यवसायीहरूबीच आपसी सम्बन्ध मजबुत बनाउनको लागि महत्वपूर्ण कदमका रूपमा लिएको छ।

  • दमकमा ११४ अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

    दमकमा ११४ अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

    साउन २७, दमक / दमक नगरपालिकामा ११४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गरिएको छ। कोशी प्रदेश सरकार, करुणा फाउन्डेसन र दमक नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा वैशाखी लगायतका आवश्यक सामग्री प्रदान गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले नगर सबै नागरिकसँग साथमा रहेको र अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। उपप्रमुख रेगिना भट्टराई प्रसाईले नगरलाई साक्षर बनाउन घरघरमै शिक्षकको व्यवस्था गर्नुका साथै शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणमा पनि नगरपालिका सक्रिय रहेको उल्लेख गर्नुभयो।

    सामाजिक विकास समिति संयोजक शारदा भट्टराई सापकोटाले शारीरिक बनावटका आधारमा विभेद नगरी सबैलाई समान अधिकारको सुनिश्चितता आवश्यक रहेको धारणा राख्नुभयो। राष्ट्रिय अपाङ्गता सङ्घका केन्द्रीय सदस्य मदन बोहराले वितरण गरिएको सामग्री अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रभावकारी र मजबुत सहारा हुने विश्वास व्यक्त गर्नुभयो।

    महिला तथा बालबालिका शाखाकी प्रमुख सरिता भण्डारीले करुणा फाउन्डेसन, प्रदेश सरकार र दमक नगरपालिकाको साझेदारीमा कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो। कार्यक्रममा करुणा फाउन्डेसनकी स्नेहा खड्का लगायतको उपस्थिति रहेको थियो।

  • जेसिस दमकको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न

    जेसिस दमकको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न

    साउन २७, दमक / झापाको दमक नगरपालिकामा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ। दमक जेसिसको आयोजनामा तथा ओम शान्ति डेन्टल हस्पिटल दमक–५ को प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दमक–१ स्थित श्री भृकुटी माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।

    जेसिस दमक २०२५ का अध्यक्ष सहदेव भट्टराईका अनुसार, जेसिसले वर्षेनी स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको छ र यस वर्ष स्वास्थ्य अन्तर्गत दन्त शिविर आयोजना गरिएको हो। उनले ओम शान्ति डेन्टल हस्पिटललाई भरपर्दो र विश्वासिलो डेन्टल सेवा प्रदायक भएकोले निरन्तर विश्वास गर्दै आएको बताए।

    ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार, अस्पताल पुरानो र विश्वासिलो संस्था हो, जसमा डाक्टरबाटै सस्तो, सुलभ र पारिवारिक वातावरणमा दन्त उपचार उपलब्ध हुन्छ। साथै विशेष रोगीका लागि छुट सुविधा पनि व्यवस्था गरिएको उनले जानकारी दिए।

    दन्त सर्जन डा. अन्जली ठाकुरका अनुसार, शिविरमा विशेषगरी बालबालिकामा खाने दाँतमा किरा लाग्ने समस्या बढी देखिएको छ। उनले अभिभावकको सुझावभन्दा डाक्टरको सल्लाह बालबालिकाले बढी मान्ने भएकाले शिविरमार्फत सही दाँत माज्ने तरिका र सावधानीका उपाय पनि सिकाइएको बताइन्।

    श्री भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद न्यौपानेले यस प्रकारका कार्यक्रमले विशेषगरी आर्थिक अवस्था कमजोर परिवारका विद्यार्थीलाई ठूलो सहयोग पुग्ने बताए। विद्यालयमा हाल ४०० विद्यार्थी अध्ययनरत छन्, जस मध्ये करिब ३५० जनाको दन्त परीक्षण गरिएको विद्यालयले जनाएको छ।
    कार्यक्रममा जेसी रुबल अधिकारी लगायत जेसिसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

  • रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको संयुक्त आयोजनामा साउनभरि चिया र प्रसाद वितरण कार्यक्रम सम्पन्न

    रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको संयुक्त आयोजनामा साउनभरि चिया र प्रसाद वितरण कार्यक्रम सम्पन्न

    साउन २६, दमक / साउन महिनाभरि प्रत्येक सोमबारको अवसरमा दमक–५ स्थित धनेश्वर मन्दिरमा रोटरी क्लव अफ दमक, रोट्रयाक्ट क्लव अफ दमक, र इन्ट्रयाक्ट क्लव अफ जेम्सको संयुक्त आयोजनामा विशेष सामाजिक सेवा कार्यक्रम सम्पन्न भएको छ।
    “शिव उत्सव” नाम दिइएको उक्त कार्यक्रम अन्तर्गत चार सोमबार लगातार मन्दिरमा आउने भक्तजनहरूलाई चिया, फलफुल तथा प्रसाद वितरण गरिएको थियो। कार्यक्रममा करिब हजारभन्दा बढी भक्तजनले सेवा प्राप्त गरेका छन्।

    कार्यक्रमका माध्यमबाट रोटरी तथा रोट्रयाक्ट क्लवको सामाजिक उत्तरदायित्वलाई समुदायमा चिनाउने प्रयास गरिएको र भजन कीर्तनसहित भक्तिभावपूर्ण वातावरण सिर्जना गरिएको रोट्रयाक्ट क्लव अफ दमकका अध्यक्ष दिवाकर पाँचकोटीले जानकारी दिए।
    यस सामाजिक अभियानमा उषा चापागाईं फाउण्डेशन, आरसी फर्निचर र शुभ इम्पेक्सले मुख्य सहयोग प्रदान गरेका थिए।

    फाउण्डेशनका संरक्षक तथा रोटरी क्लव अफ दमकका पूर्वअध्यक्ष सन्दिप ‘दिपु’ चापागाईं र हालका अध्यक्ष केशव अग्रवालको व्यवसायिक प्रतिष्ठान आरसी फर्निचर तथा शुभ इम्पेक्सको विशेष योगदान रहेको कार्यक्रम संयोजक तथा रोट्रयाक्ट क्लव अफ दमकका सर्भिस चेयर युवराज पराजुलीले जानकारी दिए ।

    साउनको अन्तिम सोमबारको दिन, धनेश्वर मन्दिर संरक्षण समितिले पनि कार्यक्रम सञ्चालनमा सहयोग गरेको थियो ।समितिले रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवका प्रतिनिधिहरुलाई प्रशंसा पत्र प्रदान गर्दै धन्यवाद प्रकट गरेको छ। सामाजिक सेवामा सक्रिय यी क्लवहरूको यो पहलले धार्मिक अवसरलाई सेवा–प्रेरित उदाहरणका रूपमा प्रस्तुत गरेको छ।

  • दमकमा डिपिएलद्वारा सावनभरि भक्तजनलाई प्रसाद वितरण

    दमकमा डिपिएलद्वारा सावनभरि भक्तजनलाई प्रसाद वितरण

    साउन १५, दमक – डिपिएल दमकले सावन महिनाभरि प्रत्येक सोमबार भक्तजनलाई पानी, फलफूल, जुस र महजस्ता प्रसाद सामग्री वितरण गर्दै आएको छ। पहिलो सोमबारदेखि सुरु भएको यो अभियान दोस्रो, तेस्रो सोमबार हुँदै आज अन्तिम सोमबारसम्म निरन्तर सञ्चालन भएको हो।

    कार्यक्रम डिपिएल दमकका अध्यक्ष अश्विन तिम्सिना र उपाध्यक्ष अर्जुन निरौलाको नेतृत्वमा सम्पन्न भएको हो। डिपिएल नेपालकी राष्ट्रिय अध्यक्ष अनु आचार्य भण्डारीले यसबारे जानकारी दिँदै संस्था निरन्तर समाजसँग जोडिने विभिन्न कार्यक्रम गर्दै आएको बताइन्।

    कार्यक्रममा समाजसेवी तथा एक्युमेरिका पानी फ्याक्ट्रीका सञ्चालक पदम राउतको पनि विशेष उपस्थिति रहेको थियो। डिपिएल दमकले यसअघि पनि समुदायमुखी गतिविधिहरू गर्दै स्थानीय स्तरमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

  • दमकमा सिटी सफारी चेकजाँच कडा, अव्यवस्थित सवारी सञ्चालनमा कारबाही तीव्र

    दमकमा सिटी सफारी चेकजाँच कडा, अव्यवस्थित सवारी सञ्चालनमा कारबाही तीव्र

    झापा, दमक — दमक नगरपालिकामा सिटी सफारीको अत्यधिक भीड र बढ्दो दुर्घटना जोखिमका कारण ट्राफिक प्रहरी कार्यालय दमकले सिटी सफारी चेकजाँचलाई तीव्र पारेको छ।

    ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईको कमाण्डमा पूर्व–पश्चिम राजमार्गमा घाम–पानी नभनी जवानहरू सक्रिय रूपमा खटिइरहेका छन्। विशेष गरी बिलबुक, लाइसन्स नभएका सिटी सफारीलाई प्रहरीले आफैं चलाएर कार्यालयसम्म ल्याई कानुनी कारबाहीको दायरामा पुर्‍याइरहेको छ।

    यात्रुहरूबाट चर्को भाडा असुल्ने र लापरवाहीपूर्ण सञ्चालनबारे गुनासो बढेपछि ट्राफिक प्रहरीले यो अभियान अघि बढाएको हो। चेकजाँचकै क्रममा बिहानै मदिरा सेवन गरी विद्यालयका विद्यार्थी बोकेको पाइएको एक चालकले ट्राफिकलाई घुस दिन खोजेको घटनासमेत सार्वजनिक भएको छ।

    यातायातमा शिस्त कायम गर्न, मापसे नियन्त्रण गर्न र यात्रुहरूलाई सुरक्षित सेवा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय दमक, नगरपालिका र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यो कारबाही सञ्चालन भइरहेको ट्राफिक प्रमुख राईले बताए।

    दमक प्रहरीले सिटी सफारी चालकहरूलाई कानुन अनुसार सञ्चालन गर्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।