चैत २१ ,गौरादह / पहिलो पाईला नेपाल गौरादह शाखाको आयोजनामा २०८३ सालको भित्ते पात्रो विमोचन तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार गौरादह नगरपालिका राधाकृष्ण मन्दिरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष गोपाल कोइरालाले सामाजिक संस्था “पहिलो पाइला नेपाल” गौरादहमा स्थापित भएको देख्दा आफू हर्षित भएको बताउनुभयो। साथै, संस्थाले समाजमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आवश्यक सहयोगमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै पहिलो पाइला नेपाल गौरादह शाखाका अध्यक्ष भुपेन्द्र निरौलाले संस्थाले सामाजिक कार्यमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको बताउनुभयो। त्यसैगरी, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले “जहाँ दुख्छ, त्यहाँ पहिलो पाइला पुग्छ” भन्ने नाराका साथ संस्था अघि बढिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा स्वागत मन्तव्य पोसङ्का बास्तोलाले राख्नुभएको थियो भने संस्थाका सचिव प्रदीप धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। साथै, दमक शाखाका उपाध्यक्ष लवराज खड्का, सल्लाहकार गणेश प्रधान तथा कार्यक्रम संयोजक बाबुराम अधिकारीले पनि आ-आफ्ना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमले सामाजिक सद्भाव, सहकार्य र नयाँ वर्षको सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको संस्थाकी सदस्य चाहना योगीले बताउनुभएको छ।


