जेठ ३, दमक / झापाको दमक उद्योग वाणिज्य संघले संघका निवर्तमान अध्यक्ष गोकुल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित भएको अवसरमा विशेष सम्मान गरेको छ। दमकमा आयोजित सम्मान कार्यक्रममा श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। संघले निजी क्षेत्रको सुदृढीकरण, उद्योग–व्यवसायको प्रवर्द्धन तथा व्यवसायीहरूको हकहित संरक्षणमा उहाँले पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै संघका पदाधिकारीहरूले गोकुल श्रेष्ठले दमक उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा व्यवसायिक वातावरण सुधार, उद्यमशीलताको विकास तथा स्थानीय व्यवसायीहरूको समस्यालाई सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।
उहाँ नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुनः निर्वाचित हुनु दमकसहित समग्र पूर्वी क्षेत्रका व्यवसायीहरूका लागि गौरवको विषय भएको वक्ताहरूले उल्लेख गरे। निजी क्षेत्रका मुद्दालाई राष्ट्रिय स्तरमा प्रभावकारी ढंगले उठाउँदै व्यवसायीहरूको आवाज बुलन्द बनाउन उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरिएको थियो। सम्मान कार्यक्रममा बोल्दै गोकुल श्रेष्ठले आफूलाई पुनः जिम्मेवारीसहित विश्वास गरेकोमा व्यवसायी समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा उद्योगी–व्यवसायीको हकहित, लगानीमैत्री वातावरण निर्माण तथा आर्थिक गतिविधि चलायमान बनाउन अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले स्थानीय उद्योग–व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा निजी क्षेत्र र सरकारबीच सहकार्य विस्तार गर्न आवश्यक रहेको धारणा राख्नुभयो। सम्मान कार्यक्रममा संघका वर्तमान पदाधिकारी, पूर्वअध्यक्षहरू, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले गोकुल श्रेष्ठको पुनः निर्वाचित सफलताले दमक क्षेत्रको व्यवसायिक प्रतिष्ठा अझ उचो बनाएको बताएका थिए।


