वैशाख २५, दमक / झापाको दमक नगरपालिका वडा नम्बर ६ स्थित गायत्री विद्यापीठ स्कूल ले नयाँ व्यवस्थापन समिति, नयाँ ऊर्जा तथा प्रविधिमैत्री शिक्षासहित नयाँ शैक्षिक सत्र सुरु गरेको छ। २०६२ सालमा स्थापना भएको विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयमा हाल Pre-Nursery देखि कक्षा ८ सम्म नयाँ भर्ना खुला गरिएको छ। विद्यालयले केवल किताबी शिक्षा मात्र नभई विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित भएर पठनपाठन सञ्चालन गरिरहेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक आशिष श्रेष्ठ का अनुसार अहिलेको पुस्तालाई मध्यनजर गर्दै विद्यालयले यसै शैक्षिक सत्रदेखि Robotics र Artificial Intelligence (AI) सम्बन्धी कक्षाहरू सञ्चालनमा ल्याएको छ। विद्यार्थीको मनोविज्ञान बुझेर बालमैत्री तथा स्नेहपूर्ण वातावरणमा शिक्षण गरिने उहाँले बताउनुभयो।उहाँका अनुसार विद्यालयले समय सापेक्ष पाठ्यक्रम, प्रयोगात्मक सिकाइ, प्रविधिको सही प्रयोग तथा अतिरिक्त क्रियाकलाप (ECA/CCA) लाई विशेष प्राथमिकता दिएको छ। यसमार्फत विद्यार्थीलाई २१औँ शताब्दीका चुनौती सामना गर्न सक्षम बनाइने लक्ष्य रहेको विद्यालयको भनाइ छ।
विद्यालयमा अध्ययनरत विद्यार्थी रेजिना विश्वकर्मा ले विद्यालयमा किताबी ज्ञानसँगै व्यवहारिक तथा घरेलु जीवन उपयोगी शिक्षा पनि सिकाइने भएकाले आफूले गायत्री विद्यापीठ रोजेको बताइन्। त्यस्तै अर्का विद्यार्थी सञ्जीव चौधरी ले पहिलेको व्यवस्थापन समितिको समयमा विद्यालयको अवस्था कमजोर रहे पनि नयाँ व्यवस्थापन आएपछि विद्यालयको मुहार नै फेरिएको प्रतिक्रिया दिए।अभिभावक सन्तोष तिवारी ले नयाँ व्यवस्थापनपछि विद्यालयप्रति अभिभावकको विश्वास बढेको बताउँदै अभिभावकहरूले ढुक्क भएर आफ्ना बालबालिका भर्ना गराउन सक्ने धारणा राख्नुभयो। विद्यालयले अभिभावक नभएका तथा विशेष परिस्थिति भएका विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था समेत गर्दै आएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिनुभयो।


