जेठ ९, दमक / दमक नगरपालिका वडा नं ७ लाई बालमैत्री वडा घोषणा गरिएको छ । शुक्रबार, वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । नगरमा बालमैत्री स्थानीय वडा घोषणामा यो तस्रो हो । नगरमा यसअघि वडा नं ५ र वडा नं १ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको दमक नगरपालिका महिला तथा बालबालिका प्रमुख सरिता भण्डारीले बताईन् ।
तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । दमक ७ ले यसअघि नै ८६ प्रतिषत लक्ष्य पुरा गरेको उनले बताईन ।
वडाध्यक्ष भीमप्रसाद पौडेलले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेका सूचकमध्ये अधिकांश सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरिएको बताए । उनले बालमैत्री वडा निर्माणको यात्रामा वडाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको बताए । उनले बालमैत्री वडा घोषणासँगै कार्यान्वयनको चरणलाई प्राथकिमतामा राखिने बताए ।
बालबालिकाविरुद्ध हुने हिंसा, बेचबिखन, शोषण, र्दुव्यवहारमा कमी आएको हुनुपर्ने निर्देशिकामा व्यवस्था छ । त्यस्तै सामाजिक कुप्रथाको अन्त्य, सबै बालबालिका विद्यालय गएको हुनुपर्ने, सडक बालबालिका शून्य, बालसञ्जाल गठन, प्रत्येक विद्यालयमा खानेपानीको सुविधासहित छात्रछात्राका लागि अलग–अलग शौचालयको व्यवस्था भएको हुनुपर्ने, विद्यालय व्यवस्थापन र स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लब सञ्जालको प्रतिनिधित्व भएको हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
दमक वडा नं ७ का अध्यक्ष भीम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी दमक नगरपालिका प्रमुख राम कमार थापा रहेका थिए । यस्तै बिशिष्ठ अतिथीहरुमा जिल्ला समन्वय समिती झापाका सदस्य कपिलमणी काफ्ले, दमक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला रहेका थिए । कार्यक्रममा वडाका अन्य जनप्रतिनिधी, कर्मचारी, लगाायत बालबालिकाको उपश्थिती रहेको थियो ।



