झापा, दमक — दमक नगरपालिकामा सिटी सफारीको अत्यधिक भीड र बढ्दो दुर्घटना जोखिमका कारण ट्राफिक प्रहरी कार्यालय दमकले सिटी सफारी चेकजाँचलाई तीव्र पारेको छ।
ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख विजय राईको कमाण्डमा पूर्व–पश्चिम राजमार्गमा घाम–पानी नभनी जवानहरू सक्रिय रूपमा खटिइरहेका छन्। विशेष गरी बिलबुक, लाइसन्स नभएका सिटी सफारीलाई प्रहरीले आफैं चलाएर कार्यालयसम्म ल्याई कानुनी कारबाहीको दायरामा पुर्याइरहेको छ।
यात्रुहरूबाट चर्को भाडा असुल्ने र लापरवाहीपूर्ण सञ्चालनबारे गुनासो बढेपछि ट्राफिक प्रहरीले यो अभियान अघि बढाएको हो। चेकजाँचकै क्रममा बिहानै मदिरा सेवन गरी विद्यालयका विद्यार्थी बोकेको पाइएको एक चालकले ट्राफिकलाई घुस दिन खोजेको घटनासमेत सार्वजनिक भएको छ।
यातायातमा शिस्त कायम गर्न, मापसे नियन्त्रण गर्न र यात्रुहरूलाई सुरक्षित सेवा सुनिश्चित गर्न इलाका प्रहरी कार्यालय दमक, नगरपालिका र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा यो कारबाही सञ्चालन भइरहेको ट्राफिक प्रमुख राईले बताए।
दमक प्रहरीले सिटी सफारी चालकहरूलाई कानुन अनुसार सञ्चालन गर्न र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ।