भदौ ५, कमल / प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरमा बिहीबार सम्पन्न स्वर्ण बिन्दु प्रासन कार्यक्रममा अभूतपूर्व भीड देखियो । बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग्दा अस्पताल परिसर साँझसम्म चापले भरिएको थियो ।
अस्पतालका निमित्त प्रमुख डा. सिदार्थ ठाकुर स्वयं असिनपसिन हुँदै पुर्जा लेख्दै व्यवस्थापनमा जुटेका थिए । उनका अनुसार, कुल २८८७ जना ६ महिना देखि ७ वर्ष उमेर समूहका बालबालिकाले स्वर्ण बिन्दु प्रासन सेवन गरेका छन्।
डा. ठाकुरका अनुसार स्वर्ण बिन्दु प्रासनले बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्याउने जनविश्वास छ । साथै, उनले अबकादिनमा अटिज्म, पार्किन्सन्स, अल्जाइमर, एनसिडिसि जस्ता रोगका लागि समेत प्रभावकारी काम गर्न उत्साह थपिएको बताए । “यसरी गरिएका कार्यक्रमहरूले भविष्यमा अनुसन्धानमा पनि ठूलो सहयोग पुग्नेछ,” उनले भने ।
यसअघि पनि लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालले यस्ता आयुर्वेदिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यसपटकको सहभागिता विगतका सबैभन्दा बढी भएको अस्पताल प्रशासनले जनाएको छ ।