दमक,मंसिर ६ । झापाको दमक नगरपालिका वडा नम्बर ३ का ९० बर्षमाथिका ज्येष्ठ नागरिक, अपाङगथता र असहायहरुलाई स्थानीय सरकारले घरदैलोमानै पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ ।दमक नगरपालिकाको चालू आर्थिक बर्षको नीति कार्यक्रम अन्तर्गत नगरपालिकाको महिला बालबालिका, स्वास्थ्य शाखा र दमक नगर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु सहिहतको टोलीले आईतबारसो वडामा सेवा प्रदान गरेको हो ।सो क्रममा वडा नं. ३ का ८० जना ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई चिकित्सकसहित स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख सरिता भण्डारीले बताउनुभयो ।उहाका अनुसार, यस क्रममा स्वास्थ्य परीक्षण गरिएका व्यक्तिहरूलाई औषधी र उपचारका सल्लाह पनि प्रदान गरिएका छन्।
दमक नगरपालिकाको यस कदमले वृद्ध र अपाङ्ग नागरिकहरूको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षाका साथ, स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउनका लागि विभिन्न पहलहरू भइरहेका छन्।नगरपालिकाले यी नागरिकहरूको स्वास्थ्य स्थिति र आवश्यकताहरूलाई ध्यानमा राख्दै उनीहरूको लागि उपयुक्त उपचारका सामग्री र औषधि उपलब्ध गराइरहेको दमक नगरपालिका कार्यपालिका सदस्य देबका भुजेलले बताउनुभयो ।
स्वास्थ्य परीक्षणका लागि दमक अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरूको टोलीले सक्रिय सहभागिता जनाएका थिए। यस क्रममा, स्वास्थ्यकर्मीहरूले नागरिकहरूको स्वास्थ्य स्थिति मूल्यांकन गर्दै, आवश्यक स्वास्थ्य सुझाव र परामर्श पनि दिएका थिए। ‘।घरदैलोमा सहभागी दमक अस्पतालकी चिकित्सक डा.ऐश्वर्य गुप्ताले स्वस्थ्य परिक्षण गरिएका जेष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुमा स्वस्थ अवस्था जटिल देखिएको भन्दै नगरपािलकाले बिशेष पहल गर्नुपर्ने उल्लेख गर्नुभयो ।
दमक नगरपालिकाले ९० वर्ष माथिका वृद्ध बुवा आमा साथै क वर्गका अपाङ्गताको कार्ड भएका नगरबासीहरूका लागि घर घरमा गएर बिशेषज्ञ चिकित्सक सेवा सहित निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत सबै वडामा यस किसिमको कार्यक्रम हरेक तीन÷तीन महिनामा सञ्चालन गर्दै आएको छ । यसबाट नागरिकहहरुले सन्तुष्ट भएको प्रतिक्रिय दिएका छन् । स्थानीय गोबिन्द बुढाथोकीले नगरको यसखाले सेवाबाट आफूहले राहत पाएको बताउनुभयो ।
घरदैलो कार्यक्रममा नगर कार्यपालिका सदस्य देबका भुजेल निरौला , महिला बालबालिका शाखा प्रमुख सरिता भण्डारी,स्वस्थ्य शाखाकी फोकल पर्सन कमला पौडेल,दमक अस्पतालकी चिकित्सक ऐश्वर्य गुप्ता,आधारभुत स्वस्थ्य केन्द्र वडा ३ का अहेब देबी प्रसाद काफ्ले,दमक अस्पतालकी सहायक फर्मासिष्ट कबिता भटराई लगायतको टोली सहभागि थियो ।






