माघ ११, दमक / दमक नगरपालिकामा विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। दमक नगरपालिकाभित्रका २० वटा सरकारी तथा सामुदायिक विद्यालयहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको हो।
दमक नगरपालिका वडा नं. ७ वडा कार्यालयको समन्वय तथा वडा बाल सञ्जाल दमकको आयोजनामा सम्पन्न प्रतियोगितामा ग्लोबल एजुकेसन एकेडेमीका श्रेयंस चौलागाईं प्रथम हुन सफल भएका छन्। यस्तै, सूर्योदय एजुकेसन इङ्लिस स्कुलका तनय पाण्डेले दोस्रो र सोही विद्यालयका हिलिहाङ लिम्बूले तेस्रो स्थान हासिल गरेका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई मेडल, ट्रफी तथा नगद ४ हजार रुपैयाँ प्रदान गरिएको थियो भने दोस्रो हुनेलाई ३ हजार, तेस्रो हुनेलाई २ हजार, चौथो हुनेलाई १ हजार र पाँचौं हुनेलाई पनि १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको वडा बाल सञ्जाल दमक–७ का सदस्य अभिषेक ढकालले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष भीमप्रसाद पौडेल रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता वडा बाल सञ्जाल दमक–७ की अध्यक्ष शुभेच्छा बिमलीले गर्नुभएको थियो।
कार्यक्रममा वडा नं. ७ का वडा सदस्यहरू, सहभागी विद्यार्थीहरू तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिता कार्यक्रमको सञ्चालन वडा बाल सञ्जाल दमक–७ का सह–सचिव कमल पोख्रेलले गर्नुभएको थियो।




