चैत ७, दमक / दमक–८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५४ पिन्ट रगत संकलन भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा ११ महिलासहित ५४ जनाले रक्तदान गरेका हुन्।
रक्तदान कार्यक्रममा सामाजिक अगुवा तथा राजनीतिकर्मी रन्जित तामाङ, संस्थाका सञ्चालक समितिका सदस्य विष्णु सुब्बा, व्यवस्थापक प्रकाश राई, कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक दाहाल, कर्मचारीहरू राजन केसी, चन्द्रबहादुर कन्दङवा, मिना राई तथा पत्रकारहरू अनिलदेव राई, मनकुमार गदाल, सुजन गौतम लगायतले सहभागिता जनाएका थिए। साथै शेयर सदस्यहरू मिलन राई, ओजाहाङ लिम्बू, मनु साम्पाङ, सुसन राई लगायतले पनि रक्तदान गरेको सचिव दिपेनवाला राईले जानकारी दिए।
संस्थाले हरेक वर्ष सञ्चालन गर्दै आएको वार्षिक कार्यक्रम अन्तर्गत यस वर्ष पनि खुला रक्तदान कार्यक्रमलाई निरन्तरता दिएको हो। संस्थाका अध्यक्ष लछुदास राईका अनुसार सामाजिक सेवामूलक कार्य अन्तर्गत सहकारीले लामो समयदेखि नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आएको छ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोग तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा सामाजिक अगुवा गणेश गौतम, जितु धिमाल, लेखा संयोजक इन्द्रमान चाम्लिङ, सल्लाहकार लोकप्रसाद कन्दङवा, सुमित्रा वाङदेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सहकारी संस्थाहरूले सामाजिक सेवाका क्षेत्रमा अझ सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।२६ वर्षअघि स्थापना भएको उक्त सहकारीले हालै इलामको चुलाचुली र मोरङको पथरीशनिश्चरेमा सेवा केन्द्र विस्तार गर्दै आफ्नो सेवा क्षेत्र बढाउँदै लगेको जनाएको छ।




