पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा जेठ महिनामा ४६ लाख ६० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जेठ महिनामा कुल ४६ लाख ६० हजार ६ सय रुपैयाँ भेटी संकलन भएको हो ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार मन्दिरमा संकलन भएको भेटीलाई प्रत्येक महिना गणना गरी सार्वजनिक गर्ने गरिएको छ । समितिले मन्दिरको आम्दानी र दर्शनार्थीको संख्यामा पारदर्शिता कायम गर्न यस्तो विवरण नियमित रूपमा सार्वजनिक गर्दै आएको हो ।
भेटी संकलनसँगै मन्दिर दर्शन गर्न आउने तीर्थालुहरूको संख्या पनि सार्वजनिक गरिएको छ । जेठ महिनामा मात्रै ८ हजार ३ सय ८७ जना दर्शनार्थीले पाथीभरा देवीको दर्शन गरेका छन् ।क्षेत्र विकास समितिले दर्शनार्थीको आधिकारिक तथ्यांक राख्नका लागि माथिल्लो फेदी र काफ्ले पाटीमा रहेका प्रहरी चेक पोस्टहरूसँग समन्वय गर्ने गरेको छ । यी दुवै स्थानबाट संकलन गरिएको विवरणका आधारमा महिनाभरिको कुल दर्शनार्थी संख्या यकिन गरिन्छ ।
अघिल्ला महिनाहरूको तुलनामा जेठमा दर्शनार्थीको संख्या र भेटी संकलनको अवस्थालाई उत्साहजनक मानिएको छ । संकलित भेटी रकम पाथीभरा क्षेत्रको पूर्वाधार विकास, मर्मत सम्भार र व्यवस्थापनमा खर्च गरिने समितिले जनाएको छ



