दमक, झापा। ‘देशको खाऔँ, देशको लगाऔँ, देशमै रमाऔँ’ भन्ने नारासहित झापाको दमकमा गोठालो मार्ट सञ्चालनमा आएको छ। नेपाली उत्पादनको प्रवर्द्धन, स्थानीय उत्पादकलाई बजार उपलब्ध गराउने तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको हो।
दमक–६, देवकोटा चोकस्थित दमक सहकारीको भवनमा सञ्चालनमा आएको गोठालो मार्टमा दैनिक उपभोग्य सामग्री, ताजा सागसब्जी, अर्गानिक कृषि उत्पादन, नेपालमै उत्पादन भएका गाँजा र भाङको रेसाबाट बनेका लुगा, झोला, ब्यागलगायत विभिन्न स्वदेशी उत्पादन उपलब्ध रहेको सञ्चालक समिति अध्यक्ष सागर गौतमले जानकारी दिनुभयो।
मार्टका व्यवस्थापक श्याम घिमिरेका अनुसार गोठालो मार्टमा झापासहित देशका विभिन्न जिल्लामा उत्पादन भएका अर्गानिक तथा स्थानीय उत्पादनहरू संकलन गरी बिक्री वितरण गरिन्छ। साथै दमकमै उत्पादन भएका अचार, साबुन, कस्मेटिक सामग्री, ढाका कपडा, कोदो, मकै, फापरको पिठोलगायतका वस्तु पनि उपभोक्ताका लागि उपलब्ध छन्।
स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै उपभोक्तालाई स्वस्थ, गुणस्तरीय र अर्गानिक सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको व्यवस्थापन पक्षले जनाएको छ।
मार्टले प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिँदै गोठालो मोबाइल एप सञ्चालनमा ल्याएको छ। उक्त एपमार्फत ग्राहकले घरमै बसेर सामान खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ। साथै बजार मूल्यभन्दा करिब १० प्रतिशतसम्म कम मूल्यमा सामान उपलब्ध गराइने अध्यक्ष गौतमले बताउनुभयो।
डा. निकोलस भुसाल संयोजक रहेको आत्मनिर्भर नेपाल महाअभियान अन्तर्गत दमकका १० जना युवाको सक्रियतामा गोठालो मार्ट सञ्चालनमा आएको हो। अभियानअन्तर्गत हाल देशभर सात वटा गोठालो मार्ट सञ्चालन गर्ने योजना रहेको जनाइएको छ।
अभियानले विशेषगरी नेपाली उत्पादनको प्रवर्द्धन, कृषि तथा जडीबुटीजन्य उत्पादनको विकास, स्थानीय उत्पादनको बजारीकरण, युवा उद्यमशीलता अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्ने लक्ष्य लिएको जनाएको छ।























