दमक, असोज । ‘ज्येष्ठ अभिभावकहरू समाजका साहारा, युवाहरू अभिभावकका भरोसा’ भन्ने नारासहित दमकमा स्थापित ज्येष्ठ अभिभावक सेवा समाजको अध्यक्षमा चौथो कार्यकालका लागि पुनः अमृत विष्ट चयन हुनुभएको छ। शनिबार दमकस्थित पशुपति मन्दिरमा सम्पन्न समाजको तेस्रो वार्षिक साधारणसभाले अध्यक्षसहित अन्य पदाधिकारीलाई पनि पुनः चयन गरेको हो।
सभाबाट उपाध्यक्षमा भूपेन्द्र न्यौपाने, सचिवमा गंगा सुव्वा र सहसचिवमा तुलसा सिग्देल बस्नेतलाई जिम्मेवारी दिइएको छ। यस्तै, कोषाध्यक्षमा रमेशचन्द्र गौतम चयन हुनुभएको अध्यक्ष विष्टले जानकारी दिनुभयो। यसअघि ९ सदस्यीय कार्यसमिति रहेकोमा यसपटक ११ सदस्यीय नगर समिति बनाइएको छ। समितिका सदस्यहरूमा नवीन पाठक, खगेन्द्रप्रसाद वास्तोला, तृप्ता ढकाल, राधिका कार्की, अम्बरकुमार र तोयानाथ ढकाल रहनुभएको छ।

यसैगरी, शनिबार सम्पन्न वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट वडाका रूपमा दमकको वडा नम्बर ४ लाई सम्मान गरिएको छ। दमकका १० वटै वडामा आफ्नो शाखा विस्तार गरेको समाजले आजीवन सदस्य विस्तारमा उत्कृष्ट योगदान गरेको भन्दै वडा नम्बर ४ समितिलाई सम्मानपत्रसहित सम्मान गरेको हो। समाजले विभिन्न समिति तथा उपसमितिका संयोजक र अध्यक्षहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकको सेवा तथा समाजका गतिविधिलाई चुस्त बनाउन योगदान गरेको भन्दै सम्मान गरेको छ। समाजले दमकका १० वटै वडाबाट उत्कृष्ट सामाजिक कार्य गर्ने १० जना सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरेको छ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले समाजले ज्येष्ठ नागरिकको सुरक्षाका क्षेत्रमा गर्दै आएका गतिविधि र कामको प्रशंसा गर्नुभयो। कार्यक्रममा समाजका अध्यक्ष अमृत विष्टले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका गतिविधि तथा कामका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले राज्यका तर्फबाट ज्येष्ठ नागरिकलाई जुन प्रकारको सेवा प्रदान गर्नुपर्ने हो, त्यो काम समाजले गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।
कार्यक्रममा समाजका विभिन्न वडाका अध्यक्षहरूले आ–आफ्ना गतिविधि प्रस्तुत गरेका थिए। उनीहरूले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका काम तथा समाजको आवश्यकता र औचित्यका बारेमा धारणा राखेका थिए। यसअघि स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले समाजको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो। विभिन्न सांस्कृतिक प्रस्तुति, भजन–कीर्तनसहित समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको थियो।



























