वैशाख २९, दमक / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमी ले जिल्लाकै उत्कृष्टमध्ये एक नतिजा हासिल गर्न सफल भएको छ। विद्यालयका ५ जना विद्यार्थीले ४.० GPA प्राप्त गर्दै विद्यालयको शैक्षिक गरिमालाई थप उचाइमा पुर्याएका हुन्। पूर्ण ४.० GPA हासिल गर्ने विद्यार्थीहरूमा प्रतीक अर्याल, पूजन पौडेल, रोनिश दाहाल, रोशन बिमली र स्वेच्छा अधिकारी रहेका छन्।
दमकका विद्यालयहरूमध्ये एकै विद्यालयबाट यति ठूलो संख्यामा ४.० GPA आउनुलाई शैक्षिक क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विद्यालयका प्रधानाध्यापक गुणराज अधिकारी ले विद्यालयले प्रदान गर्दै आएको सिकाइ उपलब्धिमूलक भएको महसुस भएको बताउनुभयो। उहाँले विद्यार्थी, शिक्षक तथा अभिभावकको संयुक्त मेहनतका कारण यस्तो सफलता सम्भव भएको उल्लेख गर्नुभयो।
पूर्ण GPA ल्याउने विद्यार्थीहरूले पनि विद्यालयमा अध्ययनका लागि सहज र गुणस्तरीय वातावरण रहेको तथा घरमा निरन्तर गरेको मेहनतकै कारण उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताएका छन्। विद्यालयले पछिल्ला वर्षहरूमा शैक्षिक गुणस्तर सुधार, अनुशासित वातावरण तथा आधुनिक शिक्षण पद्धतिमा जोड दिँदै आएको छ। यस वर्षको SEE नतिजाले विद्यालयको शैक्षिक स्तरलाई थप प्रमाणित गरेको अभिभावकहरूको भनाइ रहेको छ।


