वैशाख ३०, दमक / झापाको दमक नगरपालिकामा किरात राई समुदायको मौलिक कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले बृहत् उभौली साकेला शिला प्रदर्शन तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। किरात राई यायोखा वडा कार्य समिति दमक–८, ९ र १० को संयुक्त आयोजनामा जेठ १० गते दमक–९ स्थित साकेलाथान चन्द्रमा पार्कमा कार्यक्रम आयोजना गरिने भएको हो। दमकस्थित जङ्ग्री होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमका संयोजक सुनिल राई ले कार्यक्रमबारे जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रममा १२ देखि १५ वटा साकेला शिला टोलीहरूको सहभागिता रहनेछ।
कार्यक्रम दमक नगरपालिकाका प्रमुख रामकुमार थापा को प्रमुख आतिथ्यतामा सञ्चालन हुने आयोजकले जनाएको छ। दमकसहित विभिन्न स्थानबाट करिब पाँच हजारभन्दा बढी दर्शक तथा सहभागीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।कार्यक्रमका लागि करिब ३ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ। आर्थिक स्रोत स्थानीय सरकार तथा स्थानीय सहयोगबाट व्यवस्थापन गरिने संयोजक राईले जानकारी दिनुभयो। किरात राई यायोखा वडा नम्बर ९ का अध्यक्ष सन्त किराती ले आधुनिकता तथा पश्चिमी संस्कृतिको प्रभावका कारण मौलिक भाषा, कला, संस्कृति, संस्कार र पहिचान ओझेलमा पर्न थालेकाले नयाँ पुस्तालाई आफ्नो संस्कृति र पहिचानप्रति जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
उहाँले किरात राई समुदायको सांस्कृतिक धरोहर संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।यसैगरी कार्यक्रम सञ्चालक जितेन साम्पाङ राई ले यले सम्बत् ५०८६ तथा २०८३ सालको साकेला उभौली चाडको अवसरमा आयोजना हुन लागेको महोत्सव केवल चाडपर्व मात्र नभई एकता, जीवन दर्शन र सांस्कृतिक सभ्यतासँग जोडिएको परम्परा भएको बताउनुभयो। पत्रकार सम्मेलनमा किरात राई यायोखा दमक–८ का सचिव रामचन्द्र राई लगायतको उपस्थिति रहेको थियो।


