वैशाख १२, गौरादह / पहिलो पाइला नेपाल गौरादह शाखाको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। गौरादह नगरपालिका वडा नं. ८ को आर्थिक सहयोग तथा कोपिला फर्टिलिटी एण्ड वुमन क्लिनिक, आमा डेन्टल र अस्मिता फार्मेसी दमकको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।
शाखा अध्यक्ष भुपेन्द्र निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष बाबुराम अधिकारी संयोजक रहेका थिए। कार्यक्रमको उद्घाटन वडा नं. ८ का वडाध्यक्ष गणेश कुमार राजवंशीले व्यानर वाचन गरी गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा शाखा प्रतिनिधि दिवस खतिवडा उपस्थित रहेका थिए भने सदस्य पोसङ्का बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा आमा डेन्टलका प्रोप्राइटर अर्जुन कुमार श्रेष्ठ, कोपिला फर्टिलिटी एण्ड वुमन्स क्लिनिककी डा. सीता राई, अस्मिता फार्मेसीका जीवस शाह, समाजसेवी भरत निरौला लगायतको उपस्थिति रहेको थियो। शाखा प्रतिनिधि दिवस खतिवडाले संस्थाका विभिन्न सामाजिक अभियानबारे जानकारी गराउँदै गौरादह शाखाले उत्कृष्ट कार्यक्रम गर्दै आएको बताए। त्यस्तै, प्राविधिक सहयोगी संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
शिविरमा १०१ जना सेवाग्राहीहरूले दन्त सेवा, फिजिसियन सेवा, हाडजोर्नी सेवा तथा महिला विशेषज्ञ सेवा लिएका थिए। कार्यक्रमकै अवसरमा अस्पताल टोलीहरू र समाजसेवी भरत निरौलालाई सम्मानपत्र प्रदान गरिएको थियो भने वडा कार्यालयलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा प्रथम उपाध्यक्ष निशा पौडेल दहाल, कोषाध्यक्ष सुस्मिता भुजेल, सदस्यहरू यमुना खत्री, भुवन कटुवाल, चाहना योगी, लोकनाथ रेग्मी तथा स्काउटका सदस्यहरू नेश्मा प्रसाईं र मनिषा कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव प्रदीप धमलाले गरेका थिए।









