झापा । झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकालाई जोड्ने कनकाई पुल निर्माणको जस लिने विषयमा विवाद देखिएको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले वर्तमान सरकारको पहलमा पुल समयअगावै निर्माण सम्पन्न भएको दाबी गरेपछि स्थानीय जनप्रतिनिधिले उक्त दाबीको खण्डन गरेका छन्।
मन्त्री लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत कनकाई पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विषयलाई वर्तमान सरकारको पूर्वाधार निर्माणमा देखिएको गतिसँग जोड्दै प्रचार गरेका थिए।
तर, शिवसताक्षी नगरपालिका–६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले पुल निर्माणको अधिकांश काम वर्तमान सरकार गठन हुनुअघि नै सम्पन्न भइसकेको बताएका छन्। उनका अनुसार सरकार गठन हुनुअघि नै पुलको करिब ७० प्रतिशत निर्माण कार्य पूरा भएको थियो।
७०० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुल निर्माणका लागि २०७९ पुस ११ गते शर्मा एण्ड कम्पनी प्रालिसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०८३ असोज १० गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनी र स्थानीय तहको समन्वयमा निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएको बताइएको छ। पुल गत जेठ ११ गतेदेखि सञ्चालनमा आएको थियो।
वडाध्यक्ष कार्कीले पुल निर्माण आफ्नो लामो समयदेखिको सपना भएको उल्लेख गर्दै वर्तमान सरकारले सम्पूर्ण काम गरेको जस लिन खोजेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले निर्माण कम्पनीको सक्रियता र स्थानीय तहको निरन्तर समन्वयका कारण पुल समयअगावै सम्पन्न भएको दाबी गरेका छन्।
स्थानीयवासीले पनि पुल निर्माणको वास्तविक पृष्ठभूमि नबुझी वर्तमान सरकारले जस लिन खोजेको भन्दै मन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्।
यस घटनाले विकास निर्माणका योजनामा वास्तविक योगदान कसको हो भन्ने विषयमा राजनीतिक श्रेय लिने प्रवृत्तिमाथि पुनः बहस सिर्जना गरेको छ।







- Multi Media




















