शिवसताक्षी – झापाको शिवसताक्षी नगरपालिका–८ स्थित ओएसिस एकेडेमीमा तिहार विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा विद्यार्थीहरूबीच देउसी–भैलो तथा रङ्गोली प्रतियोगिता सञ्चालन गरिएको थियो।
देउसी–भैलो प्रतियोगितामा ब्लु हाउस प्रथम, रेड हाउस दोस्रो र ग्रिन हाउस तेस्रो भएका छन्। त्यस्तै, रङ्गोली प्रतियोगितामा रेड हाउस प्रथम भएको छ। प्रतियोगितामा विजयी विद्यार्थी तथा समूहलाई विद्यालयले पुरस्कारसमेत वितरण गरेको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उदयप्रकाश राईले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो।
कार्यक्रमको उद्घाटन सत्र सञ्चालन समिक्षा तिम्सिनाले गर्नुभएको थियो भने अन्य कार्यक्रम विद्यार्थी ऋतु न्यौपाने र रत्न ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य प्रयास चौधरी र अग्रता प्रसाईंले राख्नुभएको थियो।
पत्रकार अनिल देव राई तथा सेलिङ केसीले प्रतियोगिताको निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। कार्यक्रमको अन्त्यमा विद्यालयका सम्पूर्ण शिक्षकहरू सहभागी भई देउसी–भैलो खेल्नुभएको थियो। विद्यालयका सम्पूर्ण शिक्षकहरूको समेत सहभागिता रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक उदयप्रकाश राईले गर्नुभएको थियो।



























