दमक । सहयोगी मनहरू नेपाल, दमक झापाले आगलागीबाट घर पूर्ण रूपमा गुमाएकी अर्जुनधारा नगरपालिका–१, खैरेनी निवासी प्रेमकुमारी चौलागाईंलाई घर पुनर्निर्माणका लागि सहयोग गरेको छ।
गत कात्तिक ४ गते दशैँको टीकाको दिन विद्युत् सर्ट भई आगलागी हुँदा चौलागाईंको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। घरको छानो निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न दाताहरूको सहयोगमा ३० हजार रुपैयाँ बराबरको जस्तापाता उपलब्ध गराएको हो।
कार्यक्रम संयोजक दिलु दाहालका अनुसार पीडित परिवारलाई राहतस्वरूप जस्तापाता हस्तान्तरण गरिएको हो। संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा पुष्पराज भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो भने सचिव विष्णु उप्रेतीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका लेखा सदस्य राजेन्द्र शिवाकोटी, सदस्य दिलकुमारी भेटवाल (दिलु), सीता पौडेल, स्थानीय समाजसेवी पदमबहादुर निरौला लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
सहयोगी मनहरू नेपालले विपद् तथा विभिन्न समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्दै आएको छ। दाता र पीडितबीच सहयोगको पुल बन्दै आएको संस्थाले मानवीय सेवाका कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।



























