कमल – झापाको कमल गाउँपालिकामा नयाँ पुस्तालाई नेपाली मौलिक संस्कार, संस्कृति तथा धार्मिक परम्पराको महत्वबारे जानकारी गराउने उद्देश्यले स्मारिका सामुदायिक बोर्डिङ स्कुलको आयोजनामा ‘स्मारिका सांस्कृतिक संगम १.०’ कार्यक्रम सम्पन्न भएको छ।
कमल–५ स्थित विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रम कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तवारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा कमल गाउँपालिकाभित्रका १४ वटा कीर्तन मण्डलीको सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी मण्डलीहरूले देउसी, भजनकीर्तन तथा मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए।
प्रतियोगितामा लक्ष्मी नारायण कीर्तन मण्डली प्रथम, श्रीकृष्णहरि कीर्तन मण्डली द्वितीय र गुह्येश्वरी कीर्तन मण्डली तृतीय भएका छन्। विजेता मण्डलीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा विद्यालयका फाउन्डर प्रिन्सिपल गुणराज गिरीले आधुनिकताको प्रभावसँगै नयाँ पुस्ता मौलिक संस्कार र संस्कृतिबाट टाढिँदै गएको अवस्थामा यस्ता कार्यक्रमले उनीहरूलाई आफ्नो पहिचान र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
संस्कृति र परम्पराको संरक्षण अग्रज पुस्ताको मात्र नभई नयाँ पुस्ताको पनि साझा दायित्व भएको उहाँको भनाइ थियो। कार्यक्रमले स्थानीय कीर्तन मण्डलीहरूबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकता अभिवृद्धि गर्नुका साथै स्थानीय कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्यारउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।



























