हल्दिबारी ।आफ्नो प्रतिभामार्फत हल्दिबारीको पहिचान स्थापित गर्ने यात्रामा रहेकी गायिका सुशिला हस्दालाई ढडुवा युवा क्लब परिवारले आर्थिक सहयोग गर्दै हौसला प्रदान गरेको छ।
कोशी डान्सिङ एन्ड सिङ्गिङ आइडल सिजन–४ मा उत्कृष्ट २५ भित्र स्थान बनाउन सफल हल्दिबारी गाउँपालिका–४ निवासी हस्दालाई क्लबले कुल १४ हजार ३०५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो। उक्त रकममध्ये क्लबको तर्फबाट ५ हजार रुपैयाँ र क्लबको अगुवाइमा विभिन्न व्यक्तिहरूबाट संकलित ९ हजार ३०५ रुपैयाँ रहेको छ।
क्लबका अध्यक्ष गोपाल न्यौपानेको संयोजकत्वमा हस्दाकै निवास पुगेको टोलीले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको थियो। टोलीमा क्लबका सदस्यहरू ॐ भट्टराई, दिनेश मेचे, खड्ग बिष्ट तथा श्री पञ्चायत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य अस्मिता मेयाङ्वोलगायतको उपस्थिति रहेको थियो।
हस्दाको प्रतिभा, मेहनत र सांगीतिक यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको क्लबका सचिव एवं युवा अभियानकर्मी अभिषेक खतिवडाले बताउनुभयो। उहाँका अनुसार हल्दिबारीको प्रतिनिधित्व गर्दै गायन क्षेत्रमा अघि बढिरहेकी प्रतिभालाई आवश्यक समयमा साथ दिनु क्लबको सामाजिक दायित्वसमेत हो।
उहाँले भन्नुभयो, “सुशिला बहिनीले आफ्नो प्रतिभामार्फत हल्दिबारीलाई चिनाउने प्रयास गरिरहनुभएको छ। उहाँको यो यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई हाम्रो गाउँ, समाज र क्षेत्रको गौरवसँग पनि जोडिएको छ। यस्तो प्रतिभालाई प्रोत्साहन गर्नुपर्ने समयमा हामी चुप लागेर बस्न उचित ठानेनौँ। त्यसैले क्लबको अगुवाइमा सहयोग संकलन गरी उहाँकै निवासमा पुगेर हस्तान्तरण गरेका हौँ।”
क्लबका अध्यक्ष गोपाल न्यौपानेले सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो। सहयोग प्राप्त गरेपछि गायिका हस्दाले ढडुवा युवा क्लब परिवारले आफ्नो कला, प्रतिभा र सांगीतिक यात्राप्रति देखाएको माया, सद्भाव र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै कृतज्ञता प्रकट गर्नुभएको थियो।
पछिल्लो समय ढडुवा युवा क्लब परिवार समाज रूपान्तरणका अभियान, सामाजिक सचेतना, स्थानीय प्रतिभाको पहिचान तथा प्रोत्साहन, आर्थिक सहयोग हस्तान्तरण र सामाजिक उत्तरदायित्वसँग सम्बन्धित विभिन्न गतिविधिमा सक्रियतापूर्वक अघि बढिरहेको छ। समुदायका आवश्यकता र समस्यालाई आत्मसात् गर्दै मानवीय सहयोग, सामाजिक एकता र सकारात्मक परिवर्तनका लागि क्लबले निरन्तर अग्रसरता देखाउँदै आएको छ।
क्लबको यस पहलले स्थानीय प्रतिभाको सफलतामा समुदायको साथ, सहयोग र सद्भाव कति महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ। प्रतिभा पहिचान गर्ने मात्र होइन, उनीहरूको यात्रामा आवश्यक साथ र हौसला प्रदान गर्ने संस्कारको विकास गर्नु नै सामाजिक उत्तरदायित्वको सुन्दर अभ्यास हो।



























